विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यम बिच भएको अन्तरक्रिया मा उनले सो कुरा बताएका हुन ।
स्थानीयस्तरका सञ्चारमाध्यमहरु आर्थिक समस्या र संकटबाट गुज्रिएको हुँदा आर्थिक संकटको समाधान गर्ने केही दायित्व विज्ञापन बोर्डसंग जोडिएको र सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापनको संकट देखिएको हुँदा विज्ञापन बजारमा चुहावट भइरहेको कार्यकारी हुमागाईंले बताए । बजारमा भएको विज्ञापन चुहावटलाई रोक्न सम्पूर्ण सञ्चारमाध्यम एकताबद्ध हुन आग्रह पनि गरे ।
जिल्लामा सञ्चालन भइरहेका सञ्चारमाध्यमहरुको जिल्ला हुलाक कार्यालयलाई अनुगमनका लागि निर्देशन गरिएको भन्दै उनले विज्ञापन बोर्डबाट प्राप्त हुने बिज्ञापन उपलब्ध गराउँदै आएको जानकारि दिए । ‘पछिल्लो पटक स्थानीय तहलाई बोर्डले नमुना कानुन समेत पठाएका छौं ।’ उनले भने , ‘स्थानीय तहलाई सञ्चारमाध्यम अनुगमनका लागि संयुक्त अनुगमन समिति बनाउन दबाब सिर्जना गर्नुपर्छ ।’ सञ्चारमाध्यमहरु संख्यात्मक रुपमा वृद्धि भए पनि गुणात्मक वृद्धि हुन नसकेको कार्यकारी अध्यक्ष हुमागाईंको बुझाइ छ ।