नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रूस र युक्रेनका लागि विशेष दूत किथ केलोगले दुई देशबीचको युद्ध रोक्नेबारे छलफल गर्न जनवरीमा युक्रेन र केही युरोपेली देशको भ्रमण गर्ने भएका छन्।
अमेरिकी सेनाका पूर्वजनरल केलोग सो भ्रमणमा मस्को नगए पनि युक्रेन लगायत फ्रान्स, इटली र अरू देश गएर शान्ति सम्झौताबारे कुरा गर्नेछन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
कुन-कुन देशहरू भ्रमण गर्ने भन्ने टुंगो नलागी सके पनि सो भ्रमणमा केलोगले रूससँगको युद्धको स्थितिका बारेमा तथ्यपरक जानकारी लिनेछन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक रूससँग शान्ति सम्झौता गर्नेबारे ट्रम्पका अधिकारीसँग छलफल गर्न दुई हप्ताअघि अमेरिका गएका थिए। उनको सो भ्रमणमा के-के सर्तमा शान्ति सम्झौता गर्नेबारे छलफल भयो भनेर अहिलेसम्म विस्तृत रूपमा खुलेको छैन।
तर हाल जुन-जुन ठाउँमा ज-जसले कब्जा गरेको छ ती ठाउँ तत्-तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ।
त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ।
वार्तामा बस्नुअघि युक्रेन बलियो अवस्थामा होस् भनेर ट्रम्पले चुनाव जित्नेबित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।