सांसदहरुले सार्वजनिक बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए ।
बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे । समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए ।
सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।