अर्जेन्टिनी स्टार लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) को सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। मेसीले मेजर लिग सकर (एमएलएस) कै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड जितेका हुन्।
मेसी जुलाई २०२३ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेर इन्टर मायमी पुगेका थिए। उनले नियमित सिजनमा कीर्तिमान ७४ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मायमीको पहिलो उपाधिको रुपमा स्पोर्ट्स शिल्ड जिते पनि उनको टिम गत नोभेम्बरमा एमएलएस कप प्लेअफको पहिलो चरणमै पराजित भएको थियो।
एमएलएसमा मायमीको यात्रा प्लेअफमै सिमित भए पनि ३७ वर्षीय मेसीले ३६ गोलमा योगदान गरे । २१ म्याच खेलेका मेसीले २० गोल गर्नुका साथै १६ गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी एमएलएसमा एक सिजनमै कम्तीमा २० गोल र १५ असिस्ट गर्ने तेस्रो खेलाडी हुन्।
यसअघि सन् २०१९ मा लस एन्जल्सका कार्लोस भेलाले ३४ गोल र १५ असिस्ट तथा २०१५ मा टोरोन्टोका सेवास्टिन जियोभिन्कोले २२ गोल र १६ असिस्ट गरेका थिए। चोटले पिरोलेको सिजन नियमित लिगमा मायमीको लागि १९ खेल र प्लेअफमा दुई खेल मात्रै खेलेर पनि मेसीले एमएलएसकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्। उनले समग्रमा १ हजार ४ सय ८५ मिनेट मात्रै खेलेका छन्।
यो अवार्डमा विजेताको घोषणा खेलाडी, टेक्निकल स्टाफ र पत्रकारको मतबाट गरिन्छ। मेसीले ३८.४३ प्रतिशत मत प्राप्त गरे। उनको निकटम प्रतिस्पर्धी कोलम्बस क्रुका कुचो हर्नान्डेजले ३३.७ प्रतिशत मत पाए। कोलम्बियाका यी फरवार्डले १९ गोल गर्नुका साथै ११ गोलका लागि अवसर सिर्जना थिए।
पोर्टल्यान्ड टिम्बर्सका इभान्डार, डिसी युनाइटेडका क्रिस्टियन बेन्टेके, इन्टर मायमीमा लुइस स्वारेज पनि प्रतिस्पर्धामा थिए । यसअघि यो अवार्ड अमेरिकाका पूर्व फरवार्ड ल्यान्डन डोनाभान, आयरल्यान्डका रोबी किन, स्पेनका डेभिड भियाले पनि जितेका थिए । मेसीको लागि यो अर्को एक व्यक्तिगत सफलता हो ।
उनले बालोन डि’ओर आठ पटक, फिफा बेस्ट प्लेयर आठ पटक, स्पेनिस ला लिगाका सर्वोत्कृष्ट खेलाडीको अवार्ड सातपटक, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकपलगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जितिसकेका छन्।