चीनबाट चोभार आउजाउ गर्ने सडकमार्ग तोकियो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकिएको छ । भन्सार विभागले रसुवा र तातोपानी भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभार सुक्खा बन्दरगाहमा ल्याउन सडक मार्ग तोकिएको औपचारिक जानकारी गराएको छ ।

विभागका अनुसार अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइनेछ ।

यस्तै, तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रबिसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल–धुलिखेल–बनेपा–साँगा–सूर्यविनायक–कोटेश्वर–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म ल्याउन पाइन्छ ।

सरकारले गत कात्तिक २९ गते राजपत्रमा प्रकाशित गरी चोभारस्थित सुक्खा बन्दरगाहलाई चिनियाँ नाकाबाट आउने सामानका लागि खुला गर्ने निर्णय गरेको थियो । राजपत्रका आधारमा विभागले आज प्रकाशित सूचनामा आन्तरिक परिवहनका लागि सडक मार्ग तोकेको हो ।

जारी सूचनामा उल्लेख छ, ‘नेपाल राजपत्र भाग ५, खण्ड ७४, संख्या ३८ मिति २०८१–०७–२९ मा प्रकाशित नेपाल सरकार अर्थ मन्त्रालयको आन्तरिक परिवहनसम्बन्धी सूचनाको दफा १ (१) को प्रयोजनको लागि रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभर सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ल्याउन चाहने पैठारीकर्ताको लागि यस विभागको मिति २०८१–०८–२१ गतेको निर्णयानुसार तपसिल बमोजिम सडक मार्ग तोकिएको जानकारी गराइन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *