भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालय रूपन्देहीमा पुर्याएपछि बयान थालिएको छ ।
कार्यालयभित्र बयान चलिरहँदा रास्वपा कार्यकर्ताहरुले बाहिर प्रदर्शन जारी राखेका छन् । अर्कोतर्फ सहकारी पीडित पनि आन्दोलित भएका छन् । स्थानीय सुप्रिम सहकारीका पीडितहरुले बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् ।
नेकपा (एमाले) सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समिति र प्रहरी प्रतिवेदनले बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रविकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा रकमान्तर भएको देखाएको थियाे ।
लामिछानेलाई मध्यान्ह पोखराबाट विमानमा भैरहवा ल्याएदेखि समर्थकहरुले चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भैरहवाको अवस्था सामान्य नै छ ।