कोशी प्रदेशको मुख्य विपक्षी दल नेकपा माओवादी केन्द्रले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणमाथि गम्भीर छानबिनको माग गरेको छ। संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार विज्ञप्ति जारी गर्दै यो घटनाले प्रदेशबासीको शीर निहुरिएको उल्लेख गरेकी छन्।
प्रदेश सरकारले राजधानीबाहिर मन्त्रीहरू जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरी आचारसंहिता बनाएको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेकी छन्, ‘विदेश भ्रमण जाँदा त प्रदेश मन्त्रिपरिषदको निर्णयसहित सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ। त्यसविपरित कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमण जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शीर निहुरिएको छ।’
उनले मन्त्रीलाई राजीनामा मात्रै गराएर उन्मुक्ति दिन खोजिएको भन्दै असन्तोष पनि प्रकट गरेकी छन्।जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पुरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो।
त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको लज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ भने यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको उल्लेखित गरेकी छिन्।