काे ? बढी शक्तिशाली : इरान कि इजरायल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको हो । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ । इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै इरानले गत अक्टुबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किएको जनाएको छ । इजरायलसामु आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व भएको हगारीको भनाइ छ । आईडीएफले गुप्तचरी सूचनाका आधारमा इरानस्थित क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार गरेको जनाएको छ ।

इरानी सेनाले आईडीएफले राजधानी तेहरानका साथै इलम र खुजेस्तानस्थित सैन्य शिविरमा गरेको आक्रमणमा दुई सैनिक मारिएको र सीमित क्षति पुगेको जनाएको छ । तर यो आक्रमणपछि इरानले दिने प्रतिक्रियाको शैली भएको बताइएको छ । आक्रमणका बेला तीनै सहरमा विस्फोटनका आवाज सुनिएको थियो । यद्यपि, इजरायलले इरानस्थित परमाणु वा तेल प्रशोधन केन्द्रहरूलाई भने निशाना नबनाएको देखिन्छ ।

त्यस्तै, आईडीएफले सिरियाको राजधानी दमास्कससहित मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थलमा पनि आक्रमण गरेको छ । इराकी राजधानी बग्दादनजिकै पनि विस्फोटन भएको बीबीसीले जनाएको छ । तर इजरायलले इरानबाहेक अन्य देशमा गरिएको आक्रमणबारे कुनै विवरण सार्वजनिक गरेको छैन । इरान र इराकले इजरायली आक्रमणका कारण बन्द गरिएको हवाई सेवा पुनः सञ्चालनमा आएको जनाएका छन् ।

अमेरिकाले इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएको छ । तर उसले इजरायलविरुद्ध बदला नलिन इरानलाई आग्रह गरेको छ । ‘यदि इरानले फेरि जवाफ दिन खोज्यो भने हामी तयार हुनेछौं र इरानका लागि फेरि एकपटक भयावह परिणाम भोग्नेछ,’ अमेरिकी वरिष्ठ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले त्यस्तो देख्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ‘इजरायल र इरानबीचको प्रत्यक्ष आक्रमण र प्रत्याक्रमणको अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । लेबनानमा युद्धको अन्त्य सुनिश्चित गर्न र गाजामा युद्धविरामसँगै बन्धकहरूको रिहाइका लागि वासिङ्गटन तयार रहेको विज्ञप्तिमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँग प्रत्याक्रमणको अधिकार रहेको भए पनि तेल तथा परमाणु केन्द्रलाई लक्षित नगर्न आग्रह गरेका थिए ।

बेलायतले भने इजरायललाई इरानी आक्रमणबाट आफूलाई बचाउने अधिकार रहेको बताएको छ । ‘इजरायलसँग इरानी आक्रमणबाट आफूलाई बचाउने अधिकार छ भन्ने कुरामा म स्पष्ट छु र हामीले थप क्षेत्रीय द्वन्द्वबाट बच्न र सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुपर्छ भन्ने कुरामा पनि म स्पष्ट छु,’ समोआमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री केअर स्टार्मरले भने ।

इरानले आक्रमणको प्रतिक्रिया दिन नहुने स्टार्मरको भनाइ छ । ‘इरानले प्रतिक्रिया दिनु हुँदैन । हामी यस क्षेत्रको तनावपूर्ण अवस्था अन्त्यका लागि सहयोगीहरूसँग काम गर्न जारी राख्नेछौं,’ उनले भने । त्यस्तै, बेलायत सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा बेलायत इजरायलको आत्मरक्षा र अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत रहेर आफ्नो रक्षा गर्ने अधिकारको साथमा रहेको जनाइएको थियो । ‘अवस्था थप चर्काउनु कसैको पनि हितमा छैन,’ विज्ञप्तिमा भनिएको छ ।

साउदी अरब, मलेसिया लगायतका देशले आक्रमणको निन्दा गरेका छन् । इजरायली आक्रमणले इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुन र मान्यताको उल्लंघन भएको साउदी अरबको भनाइ छ ।‘साउदी अरब यस क्षेत्रका देश र जनताको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने गरी निरन्तर रूपमा बढिरहेको द्वन्द्व र तनावको अवस्थालाई अस्वीकार गर्छ,’ साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रियादले यस क्षेत्रमा जारी सैन्य द्वन्द्वको असरको चेतावनी दिँदै सबै पक्षहरूलाई ‘अत्यधिक संयमता अपनाउन र तनाव घटाउन’ आग्रह गरेको छ ।

त्यस्तै, मलेसियाले इरानस्थित सैन्य अखडामा इजरायलले गरेको आक्रमण ‘क्षेत्रीय सुरक्षालाई गम्भीर रूपमा कमजोर पार्ने’ अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनको भएको जनाएको छ । ‘मलेसियाले शत्रुताको तत्काल अन्त्य गर्न र हिंसाको चक्रको अन्त्य गर्न आव्हान गर्छ,’ मलेसियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा इजरायलको निरन्तर आक्रमणले यस क्षेत्रलाई फराकिलो युद्धको छेउमा पुर्‍याइरहेको उल्लेख गरिएको छ ।

इजरायलले तत्कालका लागि इरानमाथिको आक्रमण पूरा भएको जनाए पनि शनिबारको घटनाले पश्चिम एसिया क्षेत्रमा तनाव थप बढाएको छ । खासगरी शनिबारको घटनापछि इरान र उसका साझेदारहरू इजरालमाथि थप क्रूद्ध भएका छन् । यसको अर्थ इरानले इजरायलमाथि आक्रमण गर्ने अवसरको पर्खाइ सधैं रहने निश्चित छ ।जनसंख्या र भूगोलका आधारमा इरान इजरायलभन्दा निकै ठूलो छ । १६ लाख ४८ हजार १ सय ९५ वर्गकिमि क्षेत्रमा फैलिएको इरानको जनसंख्या करिब ९ करोड छ । २२ हजार १ सय ४५ वर्गकिलोमिटर क्षेत्रफल रहेको इजरायलको जनसंख्या ९४ लाख छ ।

भौगोलिक हिसाबले इजरायल र इरानबीचको हवाई दूरी १ हजार ७ सय २४ किलोमिटर छ । यस्तो अवस्थामा दुवै देशले एक अर्कामाथि आक्रमण गर्नका लागि सबैभन्दा सहज भनेको क्षेप्यास्त्र प्रहार नै हो । इरान पश्चिम एसियाकै सबैभन्दा ठूलो र विविधतायुक्त क्षेप्यास्त्र विकास गर्ने देश हो । इरानसँग कम्तीमा तीन हजार बलिस्टिक क्षेप्यास्त्र छन् । क्षेप्यास्त्रसँगै दुवै देशले एकअर्कामाथि आक्रमण गर्न ड्रोनको प्रयोग गर्ने गरेका छन् । इरानसँग छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने ड्रोन पनि छन् ।इजरायलले भने विभिन्न देशबाट क्षेप्यास्त्र आयात गर्ने गरेको छ । इजरायलको सबैभन्दा हातहतियार आपूर्तिकर्ता अमेरिका हो । अमेरिकी सहयोगमा नै इजरायल प्राविधिक रुपमा विश्वकै दक्ष सेना बनेको मानिन्छ । इजरालले आयात गर्ने हातहतियारमध्ये करिब ६९ प्रतिशत अमेरिकी हुन् ।

त्यस्तै, अमेरिकाले दुई देशबीच भएको सम्झौता अनुसार इजरायललाई वार्षिक सैन्य सहायताका रूपमा ३ अर्ब ८ करोड अमेरिकी डलर दिने गरेको छ । अनुदानअन्तर्गत इजरायलले आक्रमणका लागि हालसम्मकै उत्कृष्ट मानिएको ‘एफ–३५ जोइन्ट स्ट्राइक फाइटर’ विमान किन्ने गरेको छ । इजरायलले अमेरिकासँग त्यस्ता ७५ वटा विमानको सम्झौता गरेकामा ३० वटा पाइसकेको बीबीसीले जनाएको छ ।जर्मनीसँग इजरायलले हवाई प्रतिरक्षा प्रणाली र सञ्चार उपकरणका सामग्री किन्ने गरेको छ । हेलिकप्टर र नौसेनाका अस्त्र भने इटालीसँग खरिद गर्ने गरेको छ । त्यस्तै, बेलायत र क्यानडासँग पनि अस्त्र किन्ने गरेको छ ।

रक्षा खर्च हेर्ने हो भने इरानले भन्दा इजरायलले बढी गर्ने गरेको छ । अघिल्लो वर्ष इजरायलको रक्षा बजेट १९ अर्ब अमेरिकी डलर थियो भने इरानको ७ अर्ब ४ करोड मात्र थियो । इजरायलसँग १ लाख ७० हजार र इरानसँग ६ लाख सैनिक छन् । दुवै देशबीच औपचारिक रूपमा युद्ध नभए पनि लामो समयदेखि अनौपचारिक द्वन्द्वमा छन् ।भौगोलिक हिसाबले निकै टाढा भएका कारण दुई देशका सेनाबीच प्रत्यक्ष युद्ध हुने सम्भावना छैन । इरानसहित पश्चिम एसिया क्षेत्रका अन्य देशमा इरानी अधिकारीहरूको हत्याका लागि इजरायल जिम्मेवार ठानिन्छ । इरानले भने इजरालमाथि अन्य कुनै पक्षमार्फत अर्थात् ‘प्रोक्सी’ आक्रमण गर्ने गरेको छ । त्यसका लागि उसले हमास, हेजबुल्लाह वा हुथीलाई प्रयोग गर्ने गरेको छ ।

इरानले लेबनानस्थित सैन्य तथा राजनीतिक समूह हेज्बुल्लाह, यमनस्थित हुथी र गाजास्थित हमासलाई अस्त्र, गोलाबारुद र प्रशिक्षण प्रदान गर्ने गरेको छ । त्यस्तै, इराक र सिरियास्थित इरान समर्थित विभिन्न समूहहरू पनि शक्तिशाली रहेको बताइन्छ । इरानले सिरियाली सरकारलाई साथ दिन्छ र सिरियाली भूमिबाट समेत आफूमाथि आक्रमण गर्ने गरेको इजरायलको दाबी छ ।इजरायलको प्रतिरक्षा प्रणालीका मेरुदण्ड ‘आइरन डोम’ र ‘एरो’ हुन् । यिनै प्रणालीमार्फत इजरायलले आफूमाथि प्रहार गरिएका क्षेप्यास्त्र लगायतका हतियार निस्तेज पार्ने गरेको छ । इरानको प्रतिरक्षा प्रणाली भने प्राविधिक रूपमा इजरायलको भन्दा कमजोर छ ।

इजरायलसँग युद्धका लागि प्रयोग गर्न सकिने ३ सय ४० वटा सैन्य विमान छन् । इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने ‘एफ–१५’ जेट विमान, राडार छल्न सक्ने ‘एफ–३५’ जेट विमान र तीव्र गतिमा आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन् । तर इरानसँग ३२ वटा मात्र लडाइँमा प्रयोग गर्न सकिने विमान छन् । यस आधारमा हवाई आक्रमणका लागि इजरायल इरानभन्दा बढी क्षमतावान् देखिन्छ । इरानी जलसेनासँग २ सय २० वटा पानीजहाज छन् भने इजरायलसँग ६० वटा मात्र छन् ।इजरायलसँग परमाणु अस्त्र भएको ठानिन्छ । तर उसले त्यसबारे प्रष्ट रूपमा केही उल्लेख गरेको छैन । तर इरानसँग त्यस्ता अस्त्र नरहेको ठानिएको छ । इरानले परमाणु हतियार राखेको आरोप लाग्दै आएको भए पनि तेहरानले आफ्नो परमाणु कार्यक्रम अस्त्र निर्माणका लागि प्रयोग नगरेको दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *