जजिराले सोमबार र फ्लाइ दुबईले कार्तिक २४ देखि भैरहवाबाट उडान गर्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कार्तिकको दोस्रो सातादेखि जजिरा एयरलाइन्स र चौथो सातादेखि फ्लाई दुबई एयरलाइन्सले उडान गर्ने भएका छन् ।गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जजिरा एयरलाइन्सले अब सातामा तीनवटा र फ्लाइ दुबईले दैनिक एउटा उडानको तयारी गरेको बताए । ‘दुवै वायुसेवा कम्पनीले भैरहवाबाट उडान भर्नका लागि आवश्यक सबै तयारी पूरा गरी टिकट प्रक्रियामा जुटिरहेका छन्,’ उनले भने, ‘ती कम्पनीले हवाई टिकट बुकिङ खुलाइसकेका छन् ।’ उनका अनुसार अन्य वायुसेवा कम्पनीले पनि भैरहवाबाट उडान संचालन गर्न चासो देखाएका छन् ।

जजिरा एयरलाइन्सले कुवेतबाट सिधा भैरहवा उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा अवतरण गर्ने वायुयानलाई काठमाडौं विमानस्थलबाट पनि उडान भर्न पाउने सुविधा दिइएको छ । कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवामा अवतरण गर्नेछ ।

फ्लाइ दुबइले दुबई–भैरहवा–काठमाडौं–दुबई दैनिक एउटा उडान भर्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट उडान भर्ने फ्लाइ दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि भैरहवाबाट २ः४५ मा उडेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः३० मा अवतरण गर्नेछ । काठमाडौंबाट यो विमान साढे ४ बजे दुबईका लागि उड्नेछ ।

नेपाल नागरिक प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भैरहवाबाट उडान भर्नका लागि अन्य वायु कम्पनीलाई पनि प्राधिकरणले आग्रह गरेको र छलफलका क्रममा रहेको बताए । काठमाडौंबाट ४ र भैरहवाबाट ४ गरी सातामा ८ वटा उडान भर्ने अनुमति पाएको थाइ एयर एसियाले काठमाडौंबाट उडान सुरु गरे पनि भैरहवाबाट उडान संचालन गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *