केन्यामा सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५ सय ६७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैबीच, राजधानी नैरोबीको बाहिरी क्षेत्रमा रहेको इगल नर्सिङ होमका चिकित्सक डा. आरोन सिकुकुले बीबीसीलाई बताएअनुसार गोली लागेर मृत्यु भएका दुई जनाको शव उक्त स्वास्थ्य संस्थामा ल्याइएको थियो । उनले सयौं प्रदर्शनकारी अस्पतालबाहिर भेला भएर शव लैजान माग गरेको बताए ।
यी प्रदर्शन ७ जुलाई १९९० मा केन्यामा भएको ऐतिहासिक ‘साबा साबा’ (जसको अर्थ ०७–०७ हो) प्रदर्शनको ३५ औं वार्षिकोत्सवमा गरिएका थिए । १९९० जुलाई ७ मा केन्यामा बहुदलीय लोकतन्त्रका लागि संघर्षको सुरुवात भएको थियो । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रहरीले ‘निरन्तर हिंसा र उत्तेजनाको सामना गर्न सुरक्षा बलले असाधारण संयम र व्यावसायिकता देखाएको’ दाबी गरेको छ । विज्ञप्तिमा ५२ प्रहरी जवान र ११ सर्वसाधारण घाइते भएको उल्लेख छ ।
राज्यद्वारा सञ्चालित केन्या राष्ट्रिय मानवअधिकार आयोग (केएनसीएचआर) ले कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । आयोगले आफ्नो प्रतिवेदनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र पछिल्ला प्रदर्शनहरूमा यो क्रम बारम्बार देखिएको आरोप लगाएको छ ।
‘सादा पोसाकमा नम्बर प्लेट नभएका सवारीसाधनमा प्रहरीहरू परिचालन गरिएका थिए,’ आयोगले भनेको छ, ‘उनीहरूले नैरोबी, काजियाडो, नाकुरु, कियाम्बु र एल्डोरेटमा सशस्त्र आपराधिक समूहहरूसँग सहकार्य गरेपछि प्रदर्शन भड्किएको थियो ।’ प्रहरीले भने केएनसीएचआरको उक्त आरोपलाई अस्वीकार गरेको छ । केएनसीएचआरले कम्तीमा दुई जना अपहरणमा परेको प्रमाण आफूसँग भएको र देशभरका विभिन्न सहरमा गरी २९ जना घाइते र ३७ जना पक्राउ परेको पनि जनाएको छ ।
केन्यामा एकदलीय शासनको अन्त्य गर्दै बहुदलीय लोकतन्त्रको सुरुवातका लागि साबा साबा प्रदर्शनको भूमिका महत्त्वपूर्ण मानिन्छ । तत्कालीन राष्ट्रपति ड्यानियल अराप मोईको सरकारविरुद्धको उक्त प्रदर्शन क्रममा धेरै जना पक्राउ परेका थिए भने कम्तीमा २० जनाको निधन भएको थियो । त्यसयता, जुलाई ७ को साबा साबा प्रदर्शन केन्यामा नागरिक प्रतिरोध र लोकतान्त्रिक स्वतन्त्रताको लडाइँको प्रतीक बन्दै आएको छ ।
यस वर्षको जुलाई ७ को सम्भावित प्रदर्शनलाई रोक्न केन्या सरकारले सोमबार बिहानै राजधानी नैरोबी भित्रिन लागेका दर्जनौं सवारीसाधनलाई सहरभन्दा १० किलोमिटर टाढै रहेका प्रहरी चौकीमा रोकिएको थियो । जसले गर्दा सयौं यात्रु रातभर अलपत्र परेका थिए । राष्ट्रपतिको निवास ‘स्टेट हाउस’ र केन्या संसद् भवनजस्ता प्रमुख सरकारी स्थलहरूमा काँडेतारले ‘ब्यारिकेड’ लगाइएको थियो । केही विद्यालयले सोमबार विद्यार्थीलाई घरबाट ननिस्कन अनुरोधसमेत गरेका थिए । राजधानीका केही भागमा प्रदर्शनकारीले आगो बालेर प्रहरीको घेरा तोड्ने प्रयास गर्दा झडप भएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको थियो ।
केन्याको प्रमुख दैनिक पत्रिका ‘द नेसन’ का अनुसार प्रदर्शन ४७ काउन्टीमध्ये १७ वटामा फैलिएको छ । उक्त पत्रिकाका अनुसार, ओल कालौ सहरमा एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो भने अर्का एक जना गोली लागेर घाइते भएका छन् । पूर्वी केन्याको मेरु काउन्टीको मकुटानो सहरमा एक सपिङ सेन्टरमा आगजनी गरिएको थियो ।
‘साबा साबा’ प्रदर्शन भएको नैरोबीको मुख्य स्थल कमुकुन्जीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका कारण सडक अवरोधसँगै दंगा हुँदा पूर्वप्रधानमन्त्री राइला ओडिंगाले पूर्वनिर्धारित ‘साबा साबा’ प्रदर्शनमा केन्यालीहरूसँग सहभागी हुन नसकेकामा दुःख व्यक्त गरेका छन् । तर उनले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली हान्ने प्रहरी बललाई ‘दुष्ट’ भन्दै उनीहरू अझै पनि ‘औपनिवेशिक कालको धङधङीबाट मुक्त हुन नसकेको’ भन्दै तीव्र आलोचना गरेका छन् । ओडिंगाले देशका प्रहरीलाई सुधारका लागि राष्ट्रिय संवादको समेत माग गरेका छन् । १९९० को ‘साबा साबा’ प्रदर्शनपछि उनलाई पक्राउ गरिएको थियो । तर गत वर्ष उनले सरकारलाई समर्थन गरेका थिए ।
जेन–जीको नेतृत्व
सोमबारको प्रदर्शन मुख्य रूपमा सुशासन, अधिक जवाफदेहिता र प्रहरी क्रूरताका पीडितहरूका लागि न्यायको माग गर्दै ‘जेन–जी’ पुस्ताले आयोजना गरेका थिए । देशको बढ्दो संकटका बीच कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्षदेखि नै केन्यामा विरोध प्रदर्शन हुँदै आएको थियो । सोमबारको प्रदर्शन त्यसैको उग्र रूप रहेको जनाइएको छ । यद्यपि केन्याली सरकारले २०२४ जुनमा जनताको दबाबका कारण उक्त विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागी सडक व्यापारीको मृत्यु भएपछि सार्वजनिक आक्रोश बढ्दै गएको हो ।
गत जुन २५ मा पनि करविरोधी प्रदर्शनमा प्रहरीसँगको मुठभेडमा परी कम्तीमा १९ जनाको मृत्यु भएको थियो । सोमबारको प्रदर्शन सोही प्रदर्शनमा मारिएकाहरूको सम्मानमा आयोजित थियो । सीएनएनका अनुसार नैरोबीमा संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै सुरक्षा बलहरूको प्रदर्शनकारीसँग झडप भयो । सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुर्व्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ ।
केन्याली मानवअधिकार आयोगका कार्यालयमा कथित रूपमा राज्य समर्थित कार्यकर्ताले आइतबार छापा मारेपछि सरकारी कारबाही भएको हो । प्रदर्शनकारीको मनमानी गिरफ्तारी, बेपत्ता र हत्याको अन्त्यको माग गर्दै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि बाधा पुर्याइएको सीएनएनले जनाएको छ । केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले अपराधीलाई शान्तिपूर्ण मार्चहरूमा घुसपैठ गर्न र अशान्ति निम्त्याउनबाट रोक्न सुरक्षा एजेन्सीहरू उच्च सतर्कमा रहेको बताएका छन् । उनले यसअघि गत महिनाको विरोध प्रदर्शनलाई ‘असहमतिको भेषमा आतंकवाद’ भनेपछि सार्वजनिक आक्रोशलाई थप बढावा दिएको सीएनएनले जनाएको छ ।
