तिब्बतको उत्तराधिकारीबारे दलाई लामाको उद्‍घोष, चीनको आपत्ति 

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्।

तिब्बतबाट बहिर्गमनमा परेका उनले सम्भवतः पहिलोपटक स्पष्ट रूपमा धर्मगुरु चुनिने परम्परा जारी रहने बताएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। आफ्नो पुनर्जन्म खोज्ने र पहिचान गर्ने प्रक्रिया गादेन फोड्राङ ट्रस्टको अधिनमा रहने र त्यस मामिलामा कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहने उनले बताएका छन्।

‘गादेन फोड्राङ ट्रस्टले मात्र दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने अधिकार राख्छ र यसमा हस्तक्षेप गर्ने अरू कुनै अधिकार छैन,’ उनले भनेका छन्। यसको अर्थ तिब्बतको आध्यात्मिक परम्परा र नेतृत्व संरचनाको स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी गादेन फोड्राङ ट्रस्टका सदस्यहरूमा हुनेछ, जसले भविष्यमा दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रिया प्रारम्भ गर्नेछन्।

 दलाई लामालाई जीवित अवतारको रूपमा मानिन्छ। उनले आफ्नो उत्तराधिकारी चीनभन्दा बाहिर पनि हुनसक्ने आकलन गरेका छन्। गत मार्चमा प्रकाशित किताबमा दलाई लामाले भनेका छन्, ‘हुनसक्छ मेरो उत्तराधिकारीको जन्म चीनभन्दा बाहिर पनि हुनसक्छ।’

गत २४ सेप्टेम्बर २०११ मा गरेका एक महत्त्वपूर्ण वक्तव्यमा उनले भविष्यमा दलाई लामाको पुनर्जन्मको प्रक्रिया र उत्तराधिकारीको चयनबारे बताएका थिए। ‘मैले १९६९ सम्म स्पष्ट पारेको थिएँ कि भविष्यमा दलाई लामाको पुनर्जन्म जारी रहनुपर्छ वा छैन भन्ने निर्णय तिब्बती बौद्ध परम्पराका उच्च लामाहरू, तिब्बती जनता र तिब्बती बौद्ध धर्मका अन्य अनुयायीहरूसँग परामर्श गरेर गर्नुपर्छ।’

चीनको आपत्ति 

चीन सरकारले दलाई लामाको पुनर्जन्म र उत्तराधिकारीको चयनको विषयमा आपत्ती जनाएको छ। बेइजिङले भनेको छ कि दलाई लामाको पुनर्जन्म सरकारी स्वीकृतिमा आधारित हुनेछ र चिनियाँ प्रणालीअनुसार चयन गरिनेछ। चीनको विदेश मन्त्रालयले यस विषयमा कडा शब्दहरू प्रयोग गर्दै दलाई लामाको पुनर्जन्मको प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार आफूसँग मात्र रहेको उल्लेख गरेको छ।

तर, दलाई लामाले भिडियो सन्देशमा प्रस्ट पारेका छन्, ‘मेरा अनुयायीहरूलाई चीनले चुनेको जो कोहीलाई अस्वीकार गर्न आग्रह गर्दछु। मेरो पुनर्जन्म चीन बाहिर पनि हुनसक्छ।’ यही अभिव्यक्तिले चीनलाई झन् आक्रोशित बनाएको विश्लेषकहरूको बुझाइ छ।

दलाई लामा निर्वासित भएपछि  तिब्बतमा जे भयो

सन् १९५९ मा दलाई लामा भारत निर्वासित भएपछि तिब्बतमा चिनियाँ सैन्य नियन्त्रण थप कडा बन्यो। हजारौं तिब्बतीहरूले प्रतिरोध गरे पनि चिनियाँ सेनाले ती विद्रोहहरूलाई क्रूरतापूर्वक दमन गर्‍यो। धेरै तिब्बतीहरू मारिए, कैयौंलाई पक्राउ गरेर मुख्य भूमि चीनमा निर्वासित गरियो।

लगभग ८० हजार तिब्बतीहरूले देश छोड्न बाध्य भए। धेरैले हिमाली बाटो हुँदै नेपाल र भारततर्फ पलायन भए। सन् १९६५ मा चीनले तिब्बती स्वायत्त क्षेत्र घोषणा गर्‍यो। यसको केही समयपछि तिब्बतका धार्मिक केन्द्रहरू, विशेषतः मठहरू र पुराना सांस्कृतिक धरोहरहरू व्यापक रूपमा नष्ट गरिए। चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावले तिब्बतको परम्परागत बौद्ध शिक्षालाई ठूलो आघात पुर्‍यायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *