गाजातर्फ मानवीय सहायता बोकेको जहाज, इजरायलको रोक आदेश

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको मानवीय राहत बोकेको ‘पानी जहाज’ रोक्ने निर्णय गरेको छ। जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी छन्।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले विज्ञप्तिमार्फत भने, ‘मैले सुरक्षाकर्मीहरूलाई म्याडलीन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु।’

उनले अभियानका केही सहभागीप्रति टिप्पणी गर्दै भने, ‘गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई त्यहाँ पुग्न दिइने छैन।’म्याडलीन नामको जहाज जुन १ मा इटालीबाट प्रस्थान गरेको हो। यो जहाज स्वतन्त्र राहत अभियान समूहले सञ्चालन गरेको छ। अभियानको उद्देश्य गाजाको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका जनतालाई राहत सामग्री पुर्‍याउनु हो।

आयोजकका अनुसार जहाज अहिले इजिप्टको जलक्षेत्रमा प्रवेश गरिसकेको छ र गाजातर्फ अघि बढिरहेको छ। गाजामा जारी द्वन्द्व २१औँ महिनामा प्रवेश गरेको छ।

रक्षा मन्त्री काट्जले थपे, ‘इजरायलले गाजातर्फ कुनै पनि नाकाबन्दी तोड्ने प्रयास स्वीकार गर्ने छैन, जसले हमासजस्ता आतङ्ककारी समूहसम्म हतियार पुर्‍याउने सम्भावना हुन सक्छ। इजरायल शान्ति र सुरक्षा कायम गर्न प्रतिबद्ध छ।’ एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *