इजरायली आक्रमणमा गाजामा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए  ।

उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको  मृतकमध्ये एकजना सात महिनाकी गर्भवती महिला रहेको समेत बताए ।

उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उनकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ । अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ ।

बस्सालका अनुसार, आइतबार मात्रै कम्तीमा २२ जनाको शव फेला पारिएको छ, जसमा केही बालबालिकाहरू पनि रहेका छन् । साथै दर्जनौँ घाइतेको उद्धार गरिएको छ र केही अझै बेपत्ता छन् । यी घटनाबारे हालसम्म इजरायली सुरक्षाफौजले कुनै आधिकारिक टिप्पणी दिएको छैन ।

हालैका दिनहरूमा इजरायली सेनाले गाजामा आफ्ना कारबाहीहरू तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ । शनिबार दिउँसो, सेनाले पछिल्लो २४ घण्टामा गाजाभरि १०० भन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्च यता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ । योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण नागरिकहरू रहेका छन् ।

सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट युद्ध सुरु भएको थियो, जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणमा २५१ जना इजरायलीहरू बन्धक बनाइएका थिए, जसमा हालसम्म ५७ जना अझै गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *