नारायणीमा थुप्रियो प्लास्टिक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नारायणी नदी किनारमाप्लास्टिक फोहोरको मात्रा सबैभन्दा उच्च भेटिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोरको विश्लेषण गर्दा यस्तो अवस्था पत्ता लागेको हो । फोहोर मैलालगायतका विषयमा चेतनामूलक अभियान सञ्चालन गर्दै आएको चितवनका युवाहरुको संस्था ‘बेटर चितवन’ले नदी किनारको फोहोरबारे अध्ययन गरेर आइतबार प्रतिवेदन सार्वजनिक गरेको छ ।

देवघाटको दुई क्षेत्र स्नानघाट र दाहसंस्कार स्थल, जोरकुसुम पार्क, नारायणगढ नदी किनारको विद्यालय पछाडि क्षेत्र र प्रदर्शनीस्थल क्षेत्र, नगर वन नदी किनार, शिवघाटको भंगेरीथान र भरतपुरको अन्तिम पश्चिमी बिन्दु गोलाबाट गरी आठ स्थानमा फोहोरको अवस्थाबारे विश्लेषण गरेको बेटर चितवनका पूर्वअध्यक्ष तथा अध्ययन संयोजक सागर कार्कीले जानकारी दिए । यी क्षेत्रमा भेटिएका फोहोरमध्ये साढे ४२ प्रतिशत प्लास्टिक छन् ।

त्यसमध्ये सबैभन्दा धेरै प्लास्टिक फोहोर देवघाट क्षेत्रमा ७२ प्रतिशत रहेको कार्कीले बताए । आठ क्षेत्रमध्ये अत्यधिक फोहोर नगरवन क्षेत्रमा करिब २३ प्रतिशत भेटिएको छ । नगर वन क्षेत्रमा केही समयअघिसम्म पनि भरतपुर महानगरको फोहोर लगेर पुर्ने गरिन्थ्यो । अहिले भने त्यहाँ फोहोर पुर्न बन्द भएको छ । महानगरले जलदेवी बरण्डाभार जंगलमा लगेर फोहोर पुर्न सुरु गरेको छ ।

बेटर चितवनले नवलपुर गैंडाकोटको सहमति नामक संस्थाले सञ्चालन गरेको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत रहेर फोहोरको अवस्थाको लेखाजोखा गरेको हो । बेटर चितवनका तर्फबाट परियोजनाको संयोजन गरेकी आकृति सुवेदीका अनुसार गएको कात्तिक २४ गतेदेखि ३० गतेसम्म यसबारे अध्ययन भएको थियो । यी आठ क्षेत्रमा १५ मिटर ब्यासभित्र भेटिएका फोहोरको विश्लेषण गरेको उनले जानकारी दिइन् ।

नदी किनारमा दोस्रो नम्बरमा कपडाको फोहोर १७ दशमलव १४ प्रतिशत भेटिएको छ । तेस्रोमा सिसा १२ दशमलव ६२ प्रतिशत र चौथोमा कुहिने फोहोर ७ दशमलब ८९ प्रतिशत भेटिएको छ । त्यसपछि अस्पतालबाट निस्कने फोहोर ४ दशमलव ६९ प्रतिशत र कागज ४ दशमलव शून्य दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । धातु र काठ डेढ प्रतिशत र माटोको भाडा साढे दुई प्रतिशत हाराहारीमा छन् । प्लास्टिकजन्य फोहोर सबै विन्दुमा भेटिएको कार्कीले बताए । भँगेरीथान जस्ता ठाउँमा लागूपदार्थ दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज र घुम्न डुल्न आउनेले खाएर फाल्ने बिस्कुट, चिप्सका प्लास्टिक फोहोर फेला परेको उनले बताए । ‘फोहोर व्यवस्थापनमा अलिकति ध्यान दिने हो भने पनि भँगेरीथान जस्तो ठाउँमा फोहोर नै हुँदैन । तर यसको ख्याल वडा कार्यालयले पनि नराखेको पाइयो,’ कार्कीले भने ।

नारायणी नदी धार्मिक दृष्टिले पवित्र मानिन्छ । देवघाटमा स्नान र दाहसंस्कारस्थल नै छ । गोलाघाट पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । चितवन निकुञ्ज हुँदै बग्ने भएका कारणले जंगली जीवजन्तुका लागि पनि यो नदी निकै नै महत्त्वपूर्ण छ । पर्यावरण र धार्मिक दृष्टिले महत्त्वपूर्ण हुँदाहुँदै पनि फोहोर मैलाको अवस्था भयावह देखिएको अध्ययन संयोजक कार्कीले बताए ।

 फोहोरमैलाको राम्रो र दिगो व्यवस्थापन नभए नारायणीको अवस्था बिग्रन समय नलाग्ने नदीसँग हामी परियोजनामा बेटर चितवनका तर्फबाट संयोजक रहेकी सुवेदीले बताइन् । ‘फोहोरमैलाको व्यवस्थित संकलन र बिर्सजनमा महानगरले ध्यान दिएर योजना बनाउनु आवश्यक देखियो । त्यसैगरी देवघाट र गोलाघाट क्षेत्रलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेर कार्यन्वयनमा ल्याउनुपर्ने भएको छ,’ सुवेदीले भनिन् । ढल र मलमूत्र सिधै नदीमा मिसाउने काम रोक्न नीतिगत व्यवस्था गरी कडाइसाथ कार्यान्वयन गर्न पनि उनले महानगरसँग आग्रह गरिन् ।

देवघाटदेखि गोलाघाटसम्म सात ठाउँमा प्रशोधन नगरेको ढलको पानी सिधै नदीमा मिसाएको पाइएको उनले जानकारी दिइन् । ढल मिसावटदेखि अव्यवस्थित मेला महोत्सव र घुम्न आउनेहरूले गर्ने लापर्बाहीका कारणले नै नदीमा फोहोर बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *