चक्रपथ दोस्रो खण्डको सर्भे थालियो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्डको सर्भे थालेको छ । दुई महिनाभित्र सक्ने गरी सर्भेको काम थालिएको हो । त्यसका लागि चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक खटिएका छन् ।

अध्ययनका क्रममा प्राविधिकको संख्या भने घटबढ भइरहने काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले बताए । ‘अध्ययनमा खटिनेको संख्या तलमाथि भइरहन्छ,’ उनले भने, ‘एउटा टोली आउने, अर्को जाने हुन्छ ।’

 टोलीले दुई महिना सर्भे गर्ने र त्यसपछिका चार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्नेछ । त्यसपछि मात्र निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘ड्रोन सर्भेबाट पनि टोलीले अध्ययन गर्नेछ,’ ओझाले भने, ‘त्यसका लागि अनुमति मागिसकिएकाले यो प्रक्रियामै छ ।’ प्राविधिकले चीन सरकारको अनुदानमा बन्ने कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किमिको सर्भे गर्ने प्रमुख ओझाले जनाए ।‘सर्भेका क्रममा केही बाधा–अवरोध आए त्यसमा आयोजनाले सहजीकरण गर्नेछ, हामीसँग भएका आवश्यक तथ्यांक उपलब्ध गराउँछौं,’ ओझाले भने, ‘सर्भे गर्ने खण्डमा तयारीको काम सबै सकिएको छ । पहिला भत्काएर धूलो उड्ने ठाउँमा मर्मतसम्भार गरेका छौं, खाल्डाखुल्डी पुरेका छौं ।’ डीपीआरको काम सकिएपछि आवश्यक अध्ययन गरेर मात्र त्यसको स्वीकृति सडक विभागले गर्ने उनको भनाइ छ । सर्भेका लागि गत वैशाख ६ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो ।

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । तर त्यसपछि प्रगति नहुँदा सर्वसाधारणमा निराशा थपिएको छ । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म विस्तार गर्ने भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो ।

 महाराजगन्ज–चप्पल कारखाना खण्डमा काम अघी बढाइँदै 

चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डमा सडक निर्माणको काम धमाधम भइरहेको छ । अहिले एकतर्फी सडक कालोपत्र गर्ने तयारी छ । चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–वसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो ।

चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएकाले त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘असोजमा ठेक्का भएको हो, अहिलेसम्म प्रगति २५ प्रतिशत पुगेको छ,’ उनले भने, ‘असारसम्म सक्ने गरी काम भइरहेको छ ।’ अहिले कल्भर्ट बनाउने काम पनि जारी छ । ‘एकतर्फी कालोपत्र गर्न तयारी गरिरहेका छौं, सडकमा रोलिङ गर्ने काम हुँदै छ,’ भण्डारीले भने, ‘रोलिङ गरेपछि सब बेस हाल्ने र त्यसपछि बेस राखेर कालोपत्र गर्छौं ।’ अहिले पानी परेकाले कालोपत्रको काम गर्न समस्या भएको उनले सुनाए ।

‘१० दिनभित्र एकतर्फी सडक कालोपत्रको काम सक्ने लक्ष्य छ,’ भण्डारीले भने, ‘वसुन्धरादेखि गोपीकृष्ण पुलसम्मको २.४ किमिसम्म थप ठेक्का गर्न १ अर्ब रुपैयाँ माग गरेका छौं ।’ आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम आउने र त्यही वर्षबाट ठेक्का गरेर काम अघि बढाइने भण्डारीले बताए । अहिले ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । असारभित्र उक्त खण्डको काम सकिसक्नुपर्नेछ ।

डिभिजन सडक कार्यालय काठमाडौंले नै यसको डिजाइन गरेर काम अघि बढाएको हो । ‘उता चिनियाँ कम्पनीले काम थाल्दा यता काम सक्ने भन्ने योजना हो,’ भण्डारीले भने, ‘त्यहीअनुसार काम गर्दै छौं ।’ नारायणगोपाल चोकमा केही घर भत्काउनुपर्ने भएकाले त्यहाँ अन्डरपास वा ओभरपास के बनाउन सकिन्छ भनेर डीपीआरको काम काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयले गर्दै छ । नारायणगोपाल चोकमा डेढ सय मिटर छाडेर क्लिएर भएको ठाउँबाट काम सुरु गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *