कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्।
राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए। सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
यद्यपि निरन्तर वर्षाका कारण उक्त सडकखण्डमा पुनः पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कालीकोटले सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ।
हाल वर्षा रोकिएर मौसम केही खुलेको भए पनि पहिरोको जोखिम पूर्ण रूपमा टरिनसकेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
