नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपालगञ्ज उपमहानगरपालिकाले देश र समाजका लागि अतुलनीय योगदान दिएका ऐतिहासिक व्यक्तित्वहरूको स्मृतिमा निर्माण गरिएका शालिक पुनर्निर्माण गरी शनिबार एकै दिन पुनःअनावरण गरेको छ।

विभिन्न आन्दोलनका क्रममा क्षति पुगेका छ वटा शालिक पुनर्निर्माण गरी पुनःअनावरण गरिएको हो। साथै, नेपालगञ्जको ट्राफिक चोक नजिक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ शालिकसमेत निर्माण गरी अनावरण गरिएको छ।

उपमहानगरपालिकाले ऐतिहासिक तथा राष्ट्रिय महत्त्व बोकेका व्यक्तित्वहरूको स्मृतिको संरक्षण गर्दै सार्वजनिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले शालिकहरूको पुनर्निर्माण गरिएको जनाएको छ।

नगर प्रमुख प्रशान्त विष्टले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, २०४६ सालको जनआन्दोलनका कमान्डर स्वर्गीय गणेशमान सिंह, पूर्वप्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (बीपी) कोइराला, पूर्वराजा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाह, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ तथा २०६२–६३ को जनआन्दोलनका सहिद सेतु विकका शालिकको अनावरण गरे ।

करिब ८० लाख रुपियाँको लागतमा सौन्दर्यकरणसहित शालिक पुनर्निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ। शालिक अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले इतिहासको संरक्षण र जगेर्ना गर्दै त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने , “देश र समाजका लागि महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्दै उनीहरूको विचार, आदर्श र योगदान भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले शालिक पुनःअनावरण गरिएको हो।” कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

गणेशमान चोक, बीपी चोक र पुष्पलाल चोकमा रहेका नेताहरूका शालिक जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएका थिए। यसैगरी, पूर्वराजा वीरेन्द्रको शालिक २०६२/६३ को जनआन्दोलन पछि माओवादी कार्यकर्ताले भत्काएका थिए।

त्यसपछि सो स्थानमा राजावादी समर्थकले पटक/पटक शालिक स्थापना गर्ने प्रयास गरे पनि सहमति नजुट्दा स्थापना हुन सकेको थिएन।

२०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन निर्माणाधिन ज्ञानेन्द्र चोक भत्काउने क्रममा बाँकेको खजुराकी सेतु विकको मृत्यु भएपछि आन्दोलनपश्चात् सो चोकको नाम सहिद सेतु विक चोक राखी उनको शालिक स्थापना गरिएको थियो। उक्त शालिकलाई पनि राजावादी समर्थकले पटक/पटक तोडफोड गरी क्षति पुर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *