जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।
प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अङ्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्।
घनश्याम, अङ्कु, रवि र करुण भारतमै प्रशिक्षणमा छन्। घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यत्तैबाट टिमसँग समावेश हुने छन्।
प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन्। व्यवस्थापक ओली भने केही दिनपछि जाने छन्।
खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछन्। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले बताए।
‘यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ। त्यहाँ हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुन्छ। ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौँ। भारतमा विभिन्न स्थानिय टोलीसँग अभ्यास खेल पनि खेल्छौँ’, तयारीबारे स्पष्ट पार्दै महासचिव झाले भने।
टोली प्रशिक्षणस्थलबाटै आगामी असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ। एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ सहभागिता हुनेछ।
यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।
नेपाली महिला कबड्डीले पनि २० औँ एसियाली खेलकुदमा सहभागिता जनाउने छ। महिला टोली दोश्रोपटक यस प्रतियोगितामा सहभागी हुन लागेको हो।
चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो। पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेको थियो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापाले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए।
