कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी भएको छ ।स्थानान्तरण गरेर ल्याइ संरक्षण गरेको छोटो समयमै कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी भएको हो । कृष्णसार व्यवस्थापनका लागि निर्धारण गरिएको क्षेत्रको तुलनामा सङ्ख्या धेरै भएपछि व्यवस्थापन, संरक्षण लगायतमा समस्या भएको छ ।

निकुञ्ज कार्यालयका अनुसार ४२ बाट यो निकुञ्जमा हाल ३१३ वटा कृष्णसार पुगिसकेका छन् । वयस्क भाले ८१, अर्ध वयस्क भाले २०,  वयस्क पोथी १०२, अर्ध वयस्क पोथी २६ र बच्चा ८४ वटा रहेका छन् । सन् २०१२ मा विभिन्न स्थानबाट ल्याएर ४२ वटा कृष्णसार सो मैदानमा छोडिएको थियो ।

१९६० को दशकमा शुक्लाफाँटाको हिरापुर क्षेत्रमा कृष्णसार देखा परेको स्थानीयका भनाइलाई आधार मानेर यहाँ कृष्णसार बाँच्न सक्ने निष्कर्ष निकालिएको थियो । त्यसपछि सदर चिडियाखानाबाट छ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार हिरापुरमा ल्याएर छाडिएको थियो । २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।

अहिले सङ्ख्या धेरै भएकाले व्यवस्थापनमा समस्या भइरहेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए  “क्षेत्र साँघुरिदैँ गएको छ” उनले भने ।

वाग्लेका अनुसार एकै क्षेत्रका कृष्णसारबिच ‘ब्रिडिङ’ भएमा उनीहरुको ‘जिन’ कमजोर हुँदै जाने गर्दछ । जिनको कमजोरीले लामो समयसम्म बाँच्न गाह्राे हुने गर्छ । त्यस्तै, सङ्ख्या वृद्धि भएमा प्राकृतिक रुपमै रोग बढ्ने, खानेकुराको समस्या हुने जनाइएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरमा ६० हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिएको छ । एकसय हेक्टरसम्म क्षेत्रफल भएमा सहज हुने सूचना अधिकारी वाग्लेले बताए  । उनले कृष्णसारको अस्तित्व जोगाइ राख्न स्थानान्तरण आवश्यक रहेको जनाउँदै अन्यत्र स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गरिरहेको जानकारी दिए  ।

“विभागले उपयुक्त ठाउँमा निर्णय गरेपछि त्यहाँ कृष्णसार स्थानान्तरण गर्छौ” उनले भने , “पर्यटनसँग जोडेर चितवनको राप्ती नगरपालिकाले पनि १८ वटा लैजाने प्रक्रिया अगाडि बढेको छ । छ महिनाभित्रै लैजाने कुरो छ ।”

नेपालमा सन् १९७० को दशकतिर कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो । तर, १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *