मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य जलजन्य विपत्को जोखिम बढ्न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ ।
सम्भावित विपत्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीले १० हजार ८५ जना जनशक्तिलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्दै ‘मिसन उद्धार’ अभियान सञ्चालन गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को अगुवाइमा तयार पारिएको ‘मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार प्रहरीले देशभर विपत् पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मनसुन अवधिमा जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार सामग्रीको व्यवस्थापन, दक्ष जनशक्ति परिचालन र अन्तरनिकाय समन्वयलाई उच्च प्राथमिकता दिइएको बताए ।
उनका अनुसार विपत् जुनसुकै समयमा र जुनसुकै क्षेत्रमा आउन सक्ने भएकाले प्रहरी प्रधान कार्यालयदेखि स्थानीय प्रहरी चौकीसम्मको संरचनालाई सक्रिय बनाइएको छ । आवश्यकता पर्नेबित्तिकै प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
विपत् संयन्त्र सक्रिय
नेपाल प्रहरीले केन्द्रदेखि स्थानीय तहसम्म विपत् प्रतिकार्य संरचना तयार पारेको छ । तयारी अवस्थामा राखिएका १० हजार ८५ जना प्रहरीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत तीन सय जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहतका निकायमा एक हजार २८५ जना, प्रदेश प्रहरी कार्यालय तथा प्रदेश प्रहरी एकाइमा दुई हजार १३५ जना, जिल्ला प्रहरी कार्यालयमा एक हजार ६९५ जना तथा इलाका, वडा र नगर प्रहरी कार्यालय अन्तर्गत चार हजार ६७० जना रहेका छन् । यी जनशक्ति बाढी, पहिरो, डुबान, सडक अवरोध, उद्धार तथा आकस्मिक सुरक्षा व्यवस्थापनका लागि तत्काल परिचालन हुने छन् ।
विशेष उद्धारकर्मी तयारी अवस्थामा
विपत्को गम्भीर अवस्थामा तत्काल उद्धार गर्न प्रहरीले विशेष तालिमप्राप्त जनशक्तिसहितको टोली पनि तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरी विपत् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीमा १५० जना र सातै प्रदेशका विपत् व्यवस्थापन गुल्ममा ५० जनाका दरले ३५० जना गरी कुल पाँच सय जना विशेषज्ञ प्रहरी चौबिसै घण्टा परिचालनयोग्य अवस्थामा छन् ।
यी टोली बाढीमा फसेका नागरिकको उद्धार, पहिरोमा पुरिएका व्यक्तिको खोजी, डुबान प्रभावित क्षेत्रबाट सुरक्षित स्थानान्तरण तथा जटिल उद्धार कार्यमा परिचालन हुने छन् ।
विपत्को अवस्था थप गम्भीर भएमा थप जनशक्ति परिचालन गर्ने योजना पनि प्रहरीले बनाएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण तथा अन्य सुरक्षा गणबाट थप दुई हजार १२५ जना प्रहरी परिचालन गर्न सकिने व्यवस्था गरिएको छ ।
उद्धार सामग्रीदेखि कमान्ड पोस्टसम्म
प्रहरीले विपत् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्रीलाई समेत तयारी अवस्थामा राखेको छ । डोरी, लाइफ ज्याकेट, डुङ्गा, उद्धार उपकरणलगायत सामग्री तत्काल प्रयोग गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
विपत् प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउन प्रहरीले ‘नेपाल प्रहरी विपत् विशेष दस्ता निर्माण योजना, २०८२’ अघि बढाएको छ । योजना अनुसार विशेष दक्षता भएका प्रहरीलाई विभिन्न समूहमा विभाजन गरी तालिम तथा अभ्यास गराइएको छ ।
भारी वर्षा तथा सम्भावित विपत्का समयमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कमान्ड पोस्ट स्थापना गरी सुरक्षा निकायबिच समन्वय गरिने भएको छ । उक्त संयन्त्रमार्फत घटना स्थलको मूल्याङ्कन, सूचना आदानप्रदान, उद्धार टोली परिचालन र राहत व्यवस्थापनलाई प्रभावकारी बनाइने जनाइएको छ ।
स्थानीय तह, सामाजिक संस्था र नागरिकसँग सहकार्य गरी जोखिम न्यूनीकरण तथा आपत्कालीन सहयोग प्रणालीलाई थप मजबुत बनाउने प्रहरीको योजना छ । मनसुन अवधिभर कुनै पनि विपत् घटनामा तत्काल उद्धार र सहयोग उपलब्ध गराउन नेपाल प्रहरीको सम्पूर्ण संयन्त्र उच्च सतर्क अवस्थामा रहेको जनाएको छ ।
