युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गरेका छन्। यस घोषणासँगै युक्रेनी प्रधानमन्त्री युलिया स्भिरीडेन्कोले राजीनामा दिएकी छिन्।
युद्धका कारण निर्वाचन हुन नसकेको अवस्थामा मार्शल ल अन्तर्गत पदमा रहेका जेलेन्स्कीले आफ्नो प्रशासनमा नयाँ गति ल्याउने प्रयास स्वरूप समय-समयमा सरकार हेरफेर गर्दै आएका छन्। जेलेन्स्कीले प्रधानमन्त्री स्भिरीडेन्कोको प्रतिस्थापन र केही कानुन प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘म स्भिरीडेन्कोलाई प्रधानमन्त्रीको रूपमा उनको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उनको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गर्छु।’ उनले स्भिरीडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने खुलाएका छैनन्। साथै, परिवर्तनको ठोस कारण पनि बताएका छैनन्।
राजीनामा दिने क्रममा स्भिरीडेन्कोले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘म युक्रेनी राज्यको सेवा गर्न र युक्रेनको स्थिति बलियो बनाउने, हाम्रो राष्ट्रिय हितको रक्षा गर्ने र न्यायपूर्ण शान्ति नजिक ल्याउने उद्देश्यले हरेक कार्य गर्न तयार छु।’
जेलेन्स्कीले मन्त्रिपरिषद् नवीकरण आवश्यक रहेको बताउँदै भनेका छन्, ‘हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुनर्गठन गरेका छौँ। युरोपेली संघमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउनेजस्ता महत्त्वपूर्ण कार्य बाँकी नै छन्।’ मन्त्रिपरिषद् पुनर्गठनका लागि संसद्को अनुमति आवश्यक पर्छ। तर रूसको आक्रमणपछि सांसदहरू जेलेन्स्कीको एजेन्डामा सहमत हुँदै आएका छन्।
यसैबिच, युक्रेनी सेनाले रूसी तेल भण्डारण केन्द्रहरूमा बमबारी जारी राखेको छ। रुसको समारा क्षेत्रमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
रूसी मिडियाका अनुसार युक्रेनी आक्रमणको लक्ष्य सिज्रान तेल रिफाइनरी रहेको छ। युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा गरेको निरन्तरको ड्रोन आक्रमणका कारण रूसमा इन्धन संकट चुलिएको छ भने कैयौँ क्षेत्रमा पेट्रोलको अभाव हुनुका साथै वितरणसमेत सीमित पारिएको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसको ऊर्जा पूर्वाधारमा गरिएको आक्रमणलाई मस्कोको आक्रमण रोक्नका लागि गरिएको ‘लामो दूरीको प्रतिबन्ध’ अभियानको एक हिस्सा भएको बताएका छन्। अर्कोतर्फ, रूसको रक्षा मन्त्रालयले आइतबार युक्रेनको ओडेसा र चोर्नोमोर्स्क बन्दरगाहमा आक्रमण गरेको दाबी गरेको छ। एजेन्सी
