कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो, प्रकोप अझै तीव्र हुँदै : डब्ल्यूएचओ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा  एक हजार ७०० भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ ।

कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएको तथा  एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् । मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनअनुसार इटुरी र उत्तरी किवु प्रान्तका  स्वास्थ्य क्षेत्रहरूमा  मृतक तथा संक्रमित संख्या बढ्दो छ ।

इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग बोल्दै डब्ल्यूएचओका प्रतिनिधि एनी एन्सियाले कङ्गोमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको बताए ।

डब्ल्यूएचओको प्रतिवेदनअनुसार आइतबारसम्म अनुसन्धान गरिएका ४३० सङक्रमित मृत्युहरूमध्ये ३९७ जनाको मृत्यु अस्पताल  भर्ना हुनअघि भएको थियो । यसले उपचार प्रक्रियामा भइरहेको ढिलाई देखाउँछ ।  गत मे –१५ मा घोषणा गरिएको प्रकोपले मुख्यतया पूर्वी कङ्गोका इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूलाई असर गरेको जनाइएको छ ।

कङ्गोमा २२ वटा भन्दा बढी इबोला उपचार केन्द्र र हेरचाह सुविधाहरूमा लगभग ७०० उपचार बेडहरू रहेको डब्ल्यूएचओले  रिपोर्ट गरेको छ । एन्सियाले उपचार केन्द्रहरू सङ्कटमा रहेको र इटुरी प्रान्तका सबै आवश्यकताहरू हाल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

डब्ल्यूएचओका अधिकारीहरूले किन्शासामा परीक्षण क्षमता प्रतिदिन लगभग ३० परीक्षणबाट तीव्र गतिमा बढेर प्रतिदिन दुइ हजारभन्दा बढी पुगेको बताएका छन् । त्यस्तै,  प्रभावित प्रान्तहरूमा १० वटा विकेन्द्रीकृत प्रयोगशालाहरू खोलिएको  एन्सियाले बताएका छन् ।

हाल फैलिएको प्रकोप बुन्डिबुग्यो इबोला भाइरसको सङ्क्रमणको कारणले भएको हो । यस प्रजातिको भाइरसका लागि हाल सम्म कुनै पनि स्वीकृत खोप वा विशिष्ट उपचार पत्ता लागेको छैन ।   डब्ल्यूएचओको सहयोगमा  बिहीबार कंगोमा आधिकारिक रूपमा क्लिनिकल परीक्षण  सुरु गरिएको थियो ।

एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *