फुटबलका नेतृत्वकर्ताले विश्वकपको प्रतिष्ठामै प्रश्न उठेको भन्दै मंगलबार निराशा पोखेका छन् । विश्व फुटबलको आधुनिक इतिहासमा यत्तिको खराब दिन कहिल्यै नआएको थिएन भनेर प्रतिक्रिया अगाडि आएका छन् ।
विवादको केन्द्र थियो, अमेरिकी राष्ट्रपतिले गत साता फिफा प्रमुख जियानी इन्फाटिनोलाई फोन गर्नु र आफ्ना खेलाडी फ्लोरिन बोलोगनको प्रतिबन्ध हटाउन भन्नु । यसअघिको खेलमा रातो कार्ड खाएको हुनाले बेल्जियमविरुद्धको खेलमा बोलोगन प्रतिबन्धमा परेका थिए ।
फिफाले पनि उनीमाथिको प्रतिबन्ध हटाएको थियो । यसैक्रममा बेल्जियमविरुद्धको खेलमा उनी मैदानमा उत्रिए । यसले अमेरिकालाई खासै फाइदा भने भएन र बेल्जियमको हातबाट ४–१ ले नमज्जासँगै हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । सन् १९६२ देखि विश्वकपमा रातो कार्डको अर्थ लगत्तैको खेलमा प्रतिबन्ध लाग्ने नियम बनेको थियो । त्यसयता बोलोगन नै यस्तो कारबाहीबाट बच्ने पहिलो खेलाडी रहे । यसले फिफामाथि इन्फान्टिनोको एक्लो पकड र राष्ट्रपति ट्रम्पसँग उनको नजिकको सम्बन्ध प्रस्ट भएको छ ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाको निर्णयको कडा आलोचना गर्दै त्यो अविश्वसनीय, औचित्यहीन र गैर न्यायिक भएको बताएको छ । इन्फान्टिनो भने फिफाको त्यस निर्णयमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । ट्रम्पले भने पूरा घटना क्रमको श्रेय लिने उद्देश्यले आफूले नै इन्फाटिनोलाई फोन गरेको बताएका थिए, तर उनले पनि आफूले निर्णय नै फेर्नुपर्छ भने नभनेको बताए । बेल्जियमको फुटबल संघले पनि पूरा घटनाक्रमको विरोध गरेको छ ।
तर फिफाको अपिल कमिटीले बेल्जियमको भनाइ खारेज गरेको छ । उसको भनाइ रहेको छ, यसमा बेल्जियमले फिफाको निर्णयमा विरोध गर्नुपर्ने कुनै कारण छैन । बेल्जियम थप कारबाहीका लागि स्विट्जरल्यान्डमा रहेको कोर्ट अफ आर्बिटेसनमा जाने नजाने त्यो भने टुंगो लागेको छैन । बोगोगनलाई रातो कार्ड देखाउने निर्णय ब्राजिली रेफ्री राफेल क्लसको थियो । अमेरिकाले अन्तिम १६ मा बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै उनलाई रातो कार्ड देखाइएको थियो र त्यसको अर्थ उनी एक खेलमा स्वतः प्रतिबन्धित हुन्थे ।
रेफ्री क्लसले सुरुमै रातो कार्ड देखाएका थिएनन्, तर पछि ‘भार’ को मदतमा निर्णय गरेका थिए । फिफाको अनुशासन कमिटीले बोलोगनमाथिको प्रतिबन्ध हटाउने क्रममा ४० हजार डलरको जरिवाना भने तोकेको थियो । यो रकम अमेरिकी फुटबल संघलाई तिर्न भनिएको थियो । पछिल्लो समय फिफा र यूईएफएबीच चर्को मतभेद रहेको छ । यूईएफएले भनेको छ, ‘जतिबेला फिफा जस्तो अभिभावक संस्थाले कुनै खास नियमको संरक्षण गर्दैन भने यसले खेलको प्रतिष्ठालाई नै आघात पुर्याएको छ । यसले प्रतियोगिताकै प्रतिष्ठामा पनि चोट पुर्याएको छ ।’
फिफाको नेतृत्वमा आएयता नै इन्फान्टिनोले यूईएफएको विरोध सुन्दै आएका छन् । उनी अगाडिका फिफा अध्यक्ष सेप ब्लाटरले पूरा घटनाको विरोध गरेका छन् । उनले भनेका छन्, ‘रातो कार्ड कुनै राजनीतिक फोन कलले फेरिने गर्दैन । यस्तो कुनै निर्णय फेरिन्छ भने त्यो नियममा टिकेर गरिन्छ, त्यो पनि स्वतन्त्र निकायले ।’ स्विस फुटबल संघले पनि फिफाको निर्णयमा आश्चर्य मानेको छ । नर्वेली प्रशिक्षक स्टाले सोलबानेकनले भनेका छन्, ‘अबको रातो कार्डबारे के निर्णय हुनेछ त ? अब के यस्तो कुनै कमिटीले बन्ने छ, जसले रातो कार्डलाई फिर्ता लिन सक्छ ? अहिले यस्तो निर्णय भएको छ, जसलाई सर्वथा खराब मात्र मान्न सकिन्छ, यसले फुटबल खेल स्वयंलाई चोट पुर्याएको छ ।’
इंग्लिस प्रशिक्षक थोमस टचेलले भने इंग्ल्यान्डका डेक्लन राइस र फ्रान्सका माइकल ओलिसलाई देखाइएको पहेँलो कार्ड फिर्ता हुनेछ त भनेर प्रश्न गरेका छन् ।
फिफाको अनुशासन कमिटीले भने आफ्नो निर्णयको बचाउ गर्ने लगातार प्रयास गरिरहेको छ । उसले भनेको छ, ‘रातो कार्डबारे पुनर्विचार गर्ने क्रम कुनै नयाँ होइन । युरोपेली लिगमा यस्तो निर्णय धेरैपल्ट भएको छ, तर कसैले पनि यसबारे प्रश्न गरेका छैनन् ।’
ट्रम्पले भने रेफ्रीको निर्णय असाध्यै खराब रहेको र उनी आफै त्यस निर्णयलाई लिएर दुविधामा रहेको दाबी गरेका थिए । ट्रम्पको भनाइ थियो, ‘त्यो फाउल नै थिएन । मलाई लाग्छ, यो त दुई खेलाडी एक आपसमा ठोकिएको घटना मात्र हो ।’
इन्फान्टिनोले भने फिफामुनि रहेका सबै निकाय स्वतन्त्र रहेको दाबी गरेका छन् । ट्रम्प र इन्फान्टिनोबीचको सम्बन्धलाई लिएर यसअघि पनि अनेक पटक प्रश्न उठेका छन् । गत वर्ष पाराग्वेमा भएको फिफा कंग्रेसमा युरोपेली प्रतिनिधिले बैठक तीन घण्टा ढिला सुरु भएकोमा विरोध गर्दै त्यसको बहिष्कार नै गरेका थिए । त्यति बेला इन्फान्टिनो ट्रम्पसँग मध्यपूर्णमा थिए र ढिला कार्यक्रमस्थलमा पुगेका थिए । उनले नै फिफाको पहिलो शान्ति पुरस्कार ट्रम्पलाई दिएका थिए ।
त्यसलाई लिएर नर्वे फुटबल संघले विरोधमा फिफामा पत्र पनि बुझाएको थियो । बेल्जियम फुटबल संघले अमेरिकाको हारपछि पनि पूरा घटनाक्रम नसकिएको बताएको छ । संघले भनेको छ, ‘खेलको नतिजा जस्तो भएता पनि खेल अगाडि जे जस्तो घटना भयो, त्यो स्वीकार योग्य छैन ।’ बोस्नियाविरुद्धको खेलमा बोलोगनले विपक्षी डिफेन्डर तारिक मुहारेकोभिचमाथि फाउल गर्ने क्रममा आफ्नो खुट्टाले उनको खुट्टाको जोर्नीमाथि प्रहार गरेका थिए ।
यस्तो फाउलमा सिधा रातो कार्ड देखाइन्छ र फिफाकै नियममा रहेर कम्तीमा दुई खेलको प्रतिबन्ध लगाइन्छ । यसै विश्वकपमा यस्ता दुई फाउलमा भने अर्जेन्टिनाका लियोनल मेसी र मोरक्कोका अचरफ हकिमी पनि जोगिएका छन् । बोलोगन आफैंले भनेका छन्, ‘सायद पहेँलो कार्ड देखाइएको भए पुग्ने थियो ।’
इन्फान्टिनो फिफाको नेतृत्वमा आएयता उनले यस्तै केही उदार निर्णय यसअघि पनि लिएका छन् । क्रिस्टियानो रोनाल्डोलाई यस विश्वकपमा खेल्न छुट दिइएको थियो । आयरल्यान्डविरुद्धको विश्वकप छनोटमा उनले आफ्ना विपक्षी खेलाडीलाई कुमले प्रहार गरेका थिए र यसलाई गम्भीर फाउल मानिन्छ ।
