ट्रम्पसँगको विवादमा मेलोनीलाई युरोपेली नेताहरुको साथ

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले युरोपेली नेताहरूलाई मेलोनीको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आँकलन गरिएको छ ।

ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान आकर्षित गर्न खोजेको आरोप लगाएका थिए । उनले सी ७ सम्मेलनका दौरान मेलोनीले आफुसँग तस्बिर खिच्‍नका लागि धेरै कर गरेको दाबी समेत गरेका थिए । मेलोनीले त्यसको कडा प्रतिवाद गर्दै आफु र आफ्नो देश इटलीले कसैसँग केही नमाग्‍ने बताएकी थिइन् । उनले ट्रम्पको दाबी बनावटी रहेको बताइन् । त्यस्तै ट्रम्पले आफ्नो सहयोगी देशभन्दा पनि प्रतिस्पर्धी देशहरुलाई धेरै सदासयता देखाएको उनले बताइन् ।

यस घटनापछि इटलीका विदेशमन्‍त्री एन्टोनियो ताजानीले आफ्नो देशको अपमान गरेको भन्दै अमेरिका भ्रमण स्थगित गरेका थिए । विगतमा मेलोनीको दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण दूरी कायम राख्ने केही युरोपेली देशसमेत अहिले उनीसँग सहकार्य बढाउने पक्षमा देखिएका छन् । विश्लेषकहरूका अनुसार युक्रेन र इरानका युद्ध, चीनसँग बढ्दो व्यापार असन्तुलन तथा रुसबाट उत्पन्न सुरक्षा चुनौतीका कारण युरोपेली देशहरू साझा रणनीति बनाउन बाध्य भएका छन् ।

जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पका अनुसार युरोपले अहिले अमेरिका र चीनले आफ्नो प्रभाव जोगाउन सामूहिक रूपमा अघि बढ्ने आवश्यकता महसुस गरेका छन् । यही एकताको परीक्षा आगामी साता टर्कीमा हुने नाटो शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ ।

ट्रम्पसँगको विवादपछि मेलोनीको युरोपेली नेताहरूसँगको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ । मार्चमा उनले संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा प्रयोग गर्न अमेरिकी बमवर्षकलाई अनुमति नदिने निर्णय गरेकी थिइन् ।यसअघि विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण छलफलबाट प्रायः बाहिर राखिने मेलोनी हाल जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका नेताहरूसँग नियमित समन्वयमा देखिएकी छिन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय शिखर बैठकले पनि यही परिवर्तनलाई सङ्केत गरेको छ ।

युरोपका राष्ट्रवादी दलहरूले पनि ट्रम्पप्रतिको आफ्नो धारणा परिवर्तन गर्न थालेका छन् । फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पलाई अस्थिर नेतृत्वकर्ताका रुपमा व्याख्या गरे । जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ । विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै यी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु राजनीतिमा बढी केन्द्रित हुने रणनीति अपनाइरहेका छन् ।

डेनमार्क र अल्बानियासँग पनि ट्रम्पको सम्बन्ध बिग्रिएको छ ।  ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएको थियो । अल्बानियामा ट्रम्प परिवारसँग जोडिएको एक विलासी परियोजना राजनीतिक विवादको विषय बनेको छ । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण राजनीतिक दबाब बेहोर्नुपरेको विश्लेषण सार्वजनिक भएको छ ।  आप्रवासन र सुरक्षाजस्ता केही विषयमा मेलोनी र ट्रम्पको धारणा मिल्ने गरे पनि युक्रेन युद्धमा मेलोनीको अडान युरोपेली साझेदारसँग नजिक रहेको छ ।

उनले रुसी आक्रमणको विरोध गर्दै किएभलाई निरन्तर समर्थन गर्दै आएकी छिन् । युरोपसँगको सम्बन्ध थप बलियो बनाउन यसले पनि भूमिका खेलेको छ । ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उनीसँगको सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै लाभ नपुगेको प्रतिक्रिया पनि दिएकी थिइन् । हालैको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिमाथि विश्वास नरहेको बताएका छन् । इरान युद्ध, भन्सार शुल्क र आप्रवासन नीतिमा ट्रम्पको भूमिकाप्रति पनि समर्थन न्यून देखिएको छ । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *