युरोपमा गर्मीको लहर तीव्र, नौ करोड बढी मानिस प्रभावित

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

युरोपमा तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ। एएफपीको विश्लेषण अनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ।

यद्यपि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ।युरोपमा विशेषगरी ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

‘वल्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन्। आजको गर्मीको लहरबाट मुख्य रूपमा युरोपका पूर्वी र दक्षिणी क्षेत्र प्रभावित हुने जनाइएको छ। हङ्गेरीमा लगभग सम्पूर्ण जनसख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ।

यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। साथै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान छ। एएफपीले यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान तथा संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरेको जनाएको छ।

विश्लेषणमा कुनै स्थानमा दिउसोको समयमा ३० देखि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुग्ने पूर्वानुमान भए त्यहाँका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *