काठमाडौं महानगरपालिकाले टोल–टोलमा फिल्म महोत्सवको आयोजना गरेको छ । पर्सिदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार फिल्म देखाउन लागिएको हो । सार्वजनिक स्थल, पार्क, डबली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन गरिनेछ ।
असार महिनाभर आठ ठाउँमा फिल्म देखाइने महानगरले जनाएको छ । महानगरका अनुसार फिल्म देखाउने स्थानीय तहले नै सम्पूर्ण व्यवस्थापन मिलाउनेछ । महोत्सवको प्रमुख उद्देश्य नेपाली चलचित्र क्षेत्रको विकास र विस्तार रहेको महानगर प्रवक्ता नवीन मानन्धरले बताए ।
उनले भने,‘यो कार्यक्रमको थालनी हो । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर सम्पन्न गरिनेछ ।’ महानगरले २०८० कात्तिक १४ गते युनेस्को क्रियटिभ सिटिज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेको छ ।
त्यसैअन्तर्गत टोल–टोलमा चलचित्र महोत्सवको आयोजना गरिएको हो । असार ५ गते खुलामञ्चमा फिल्म देखाइनेछ । महोत्सवमा कुनै शुल्क नलाग्ने महानगरले जानकारी दिएको छ ।
