राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धबिच्छेद गरेको धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरियाे ।
नेताहरूका अनुसार सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ। नयाँ पार्टी निर्माणको गृहकार्य तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि प्रारम्भिक समझदारी बनिसकेको छ।
पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीका अनुसार नयाँ पार्टीको सांगठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने सहमति भएको छ। त्यसैगरी, अभियानका संयोजक दुर्गा प्रसाईंलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।
राप्रपाबाट अलग भएको समूह र हिन्दु राष्ट्र एवं राजसंस्थाको एजेन्डा बोकेर सडक आन्दोलन गरिरहेको प्रसाईंको महाअभियान एक ठाउँमा उभिएर नयाँ दल घोषणा गर्न लागेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो’, प्रसाईंले भने, ‘विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन ।’
उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताए । ढाँट्न नआउने व्यक्तिका रूपमा आफूलाई परिचित गराउँदै प्रसाईंले अगाडि भने,‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौँला’।
वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताए। उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरे।
‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन् । सुस्तामा जनताले सीमा रक्षा गर्नुपरेको छ’, प्रसाईंले भने, ‘प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् ? अनि दरबारको फाइल खोल्छु भनेर हिँडेका छन्।’

