२७ जेठ बिहान १० बजे एउटा हेलिकोप्टर दार्चुला क्षेत्र हुँदै उड्यो । स्थानीय र प्रशासनका अनुसार उक्त हेलिकोप्टर भारतीय सेनाको हो । दार्चुलास्थित सुरक्षास्रोतका अनुसार उक्त हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिएरै नेपाली आकाशमा पसेको थियो ।
दार्चुलाका सहायक प्रजिअ मोहनसिंह धामीले कान्तिपुरसँग भने, ‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो ।’
कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय अतिक्रमित नेपाली भूभाग हो । जहाँ भारतीय सेनाका अलवा भारतीय अर्धसैनिक दस्ता एसएसबी र आइटीबीपीको फौज तैनाथ छ । नेपालीलाई त्यस क्षेत्रमा भारतले आउजाउ निषेध गरेकाे छ ।
सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबटेन बोर्डर पुलिस’ (आइटीबीपी)का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए । उक्त सैनिक हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ ।
नेपाली आकाश हुँदै हेलिकोप्टर उडाउन भारतीय पक्षले कुनै अनुमति नलिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए ।
दार्चुलास्थित सुरक्षा स्रोतका अनुसार बुधबार भारतीय सैनिक हेलिकोप्टर दार्चुलाको छाङरू क्षेत्रको आकाशमा छिरेलगत्तै नजिकै रहेको सशस्त्र प्रहरीको गुल्मले दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्रको ५० नम्बर गण हेडक्वार्टरलाई जानकारी गराइएको थियो । त्यसपछि जिल्ला प्रशासन र तहगत संयन्त्रमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो ।
छाङरूको बस्तीमाथि भारतीय हेलिकोप्टर देखेपछि त्यसको विरोधमा स्थानीयले बाहिर निस्केर ‘नाराबाजी’ समेत गरेको एक युवाले कान्तिपुरलाई बताए । भने, ‘अरुबेला महाकाली नदी छेउबाटै जान्थ्यो, दिनहुँ ओहोरदोहोर हुँदा खासै वास्ता पनि हुँदैन थियो, त्यसदिन भने बस्तीमाथि नै आएपछि हामीले चिच्याएर विरोध गरेका थियौं ।’
आइटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ तर कुन विशेष उद्देश्यका साथ गएको भन्नेमा प्रस्ट छैन । सुरक्षा स्रोतका अनुसार सोही हेलिकोप्टरबाट उनी आदी कैलाश र ओमपर्वत क्षेत्र अवलोकन गरी फर्किएका थिए ।
कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जाने बाटो पनि भारतले एकतर्फी रूपमा बनाइसकेको छ । पछिल्लो पटक भारत र चीनले देशले यो बाटोबाट व्यापार र यात्रा अघि बढाउने सहमति गरेपछि नेपालले दुवैलाई कूटनीतिक नोटमार्फत विरोध जनाइसकेको छ । गत वैशाख तेस्रो साता मात्रै परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएर आफ्नो अडान पुनः दोहोर्याएको थियो ।
शुक्रबार मात्रै भारतीय विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटाले कैलाश मानसरोबर जाने तीर्थयात्रीको पहिलो टोलीलाई बिदाई गरेकी थिइन् । पहिलो टोली नाथुलाको बाटो हुँदै यात्रा गर्ने तयारीमा छ । सोमबारबाट टोलीले तीर्थ यात्रा गर्दैछ ।
हेलिकोप्टर दार्चुला क्षेत्रमा प्रवेशलाई लिएर जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग जवाफ मागिने जनाएको छ । बिना अनुमति नेपाल छिरेको भारतको स्थानीय प्रशासनसँग यस विषयमा ध्यानाकर्षणसहित जवाफ माग्ने काम भइरहेको बताए । अर्को देशको आकाशमा बिना अनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’का रूपमा लिइन्छ । ‘आइटीबीपीका महानिर्देशक कपुर कालापानी क्षेत्रस्थित गुञ्जीको युनिट निरीक्षणमा जाने क्रममा नेपालतर्फ छिरेको र यस विषयमा सुरक्षा संयन्त्रबाट प्रशासनलाई जानकारी आइसकेको छ, त्यसको ब्यहोरा गृह मन्त्रालयलाई पनि अवगत गराइसकेका छौं,’ धामीले भने ।
उनले ‘भौगोलिक विकटता र प्रतिकूल मौसमका बेला कहिलेकाही उडानमा समस्या पर्न सक्ने’ भए पनि भारतीय सुरक्षा प्रमुख उडेको दिन त्यस क्षेत्रको मौसम सामान्य रहेको पाइएको बताए । उडानअघि यसबारे जानकारी गराउनुपर्नेमा त्यसबारे पनि आफूहरूलाई भारतीय पक्षबाट पत्तै नदिएको पनि उनकाे भनाइ छ ।
यसबारे पिथौरागढस्थित भारतीय डिस्ट्रिक मजिस्ट्रेट (जिल्ला धिकारी)को कार्यालयलाई पनि अनुमति बेगर किन हेलिकोप्टर नेपाली आकाश मा छिरेको ? भनेर सोधिने र त्यसका लागि प्रक्रिया पनि अघि बढाइएको सहायक प्रजिअ धामीले बताए ।
नेपाली सेनाका पूर्वरथी शरद गिरीले विदेशी सेनाको हेलिकोप्टरले नेपालको हवाई क्षेत्र (एयरस्पेस) पार गर्दै अर्को देशमा प्रवेश गर्नु गम्भीर विषय भएको बताएका छन्।
‘नियतवश वा प्राविधिक कारणवश छिरेको हो, सरकारले त्यसबारे जवाफ माग्नुपर्छ। जे–जसरी छिरे पनि यसलाई स्वाभाविक रूपमा लिन सकिँदैन। प्राविधिक कारणले नेपालतर्फ छिरेको थियो भने पनि त्यसबारे सम्बन्धित देशको संयन्त्रलाई तत्काल जानकारी गराउनुपर्थ्यो, तर त्यस्तो भएको देखिएन । यसलाई हवाई क्षेत्र उल्लंघन (एयरस्पेस भायोलेसन) का रूपमा लिनुपर्छ,’ पूर्वरथी गिरीले भने।
उक्त क्षेत्रमा भारतीय हेलिकोप्टरको उडान यो नै पहिलो चाहिँ हैन । पाँच वर्षअघि पनि भारतीय हेलिकोप्टर निरन्तर पिथौरागढको आकाशबाट बिनाअनुमति दार्चुला सदरमुकाम खलंगा हुँदै कालापानीतर्फ जाने गरेको विषयमा कान्तिपुरले उजागर गरेपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत भारतको ध्यानाकर्षण गराएको थियो ।
२०७८ भदौ तेस्रो साता परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिकमार्फत बिनाअनुमति नेपालको आकाश प्रयोग नगर्न आग्रह गरेको थियो । खलंगास्थित नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट भारतीय हेलिकोप्टर निरन्तर उड्न थालेपछि जिल्ला सुरक्षा समिति बैठक नै बोलाएर प्रशासनले भारतीय उक्त कदमप्रति आपत्ति जनाएको थियो । भारतीय प्रशासनलाई पत्र पठाउनुका साथै गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयलाई पनि जिल्ला प्रशासनले जानकारी गराएको थियो । त्यसपछि परराष्ट्रले कूटनीतिक नोटमार्फत आपत्ति जनाएको थियो ।
नेपालको राजनीतिक तथा प्रशासनिक मानचित्रअनुसार दार्चुलाको ब्यास गाउँपालिका–१ अन्तर्गत समेटिएका कालापानी, लिपुलेक, लिम्पियाधुराका भुभागमा भारतीय सेना, आइटीबीपी र एसएसबीका फौज वर्षौंदेखि बसेका छन् । कालापानी क्षेत्रलाई दुवै देशले आफ्नो भएको दाबी गर्दै आएका छन् । यही दाबीबीच भारतले कात्तिक २०७६ मा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसको विरोध गरेको थियो ।
कूटनीतिक नोटमार्फत विरोध जनाए पनि नक्सा जारीसँगै चीन जोड्ने बाटो एकतर्फी बनाएपछि नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर मन्त्रिपरिषद् बैठकबाट राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । त्यसलाई २०७७ जेठ ३१ को प्रतिनिधिसभा बैठकले नयाँ नक्सालाई समाबेस गर्ने गरी ल्याइएको संविधान संसोधन विधेयक पारित भएको थियो । त्यसपछि कालापानी नजिकै छाङरूमा पनि नेपाल-भारत र नेपाल-चीन सीमा सुरक्षार्थ सशस्त्र प्रहरीले निरीक्षकको नेतृत्वमा पहिलो पटक फौजलाई छाङरूमा तैनाथ गराएको थियो ।
कालापानी क्षेत्र नजिकै पर्ने छाङरुमा सशस्त्र प्रहरीले हाल डीएसपीको नेतृत्वमा गुल्म र त्यस मातहत तिंकरमा निरीक्षकको नेतृत्वमा सीमा सुरक्षार्थ बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ गराउँदै आएको छ । त्यही संयन्त्रमार्फत नेपालतर्फ सीमा सुरक्षा गरिँदै आएको छ ।
साभारःकान्तिपुर ।
