टेम्पो भीरमा खसालिएको विवाद: सोधपुछ गर्न १० जना नियन्त्रणमा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकछेउबाट टेम्पो भीरमा खसालिएको घटनापछि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जना गरी १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न वन कर्मचारी र वन रक्षकको भूमिकाबारे अनुसन्धान भइरहेको छ। गाईबाँधे क्षेत्रमा महिलाले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने घटनामा प्रत्यक्ष संलग्न व्यक्तिको पहिचान गर्ने काम जारी रहेको उनले बताए।

भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा शुक्रबार उक्त घटना भएको थियो। स्थानीय धनादेवी धामीले खुद्रा पसल सञ्चालनका लागि प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीले भीरबाट धकेलेको देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चासो तानेको थियो।

घटनापछि डिभिजन वन कार्यालय धनगढीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। कार्यालयले टेम्पो सञ्चालनयोग्य अवस्थामा नरहेको, कवाड भइसकेको र छाप्रोका रूपमा सडक किनारमा प्रयोग भइरहेको दाबी गरेको छ।

वन कार्यालयका अनुसार लामो समयदेखि उक्त संरचना हटाउन आग्रह गर्दा पनि अटेर भएपछि शुक्रबार बल प्रयोग गरेर हटाउने क्रममा भिरालो भूगोल र सन्तुलन नमिल्दा टेम्पो तल खसेको हो।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *