झापाको मेचीनगर–४ बाहुनडाँगीका रामबहादुर प्रधान (८४) ले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जित साढे ४ करोड मूल्य बराबरको २ बिघा ५ कट्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन् । सम्पत्ति हस्तान्तरणपछि उनी आश्रमकै संरक्षणमा जीवन बिताइरहेका छन् ।
जग्गादानको सोच आएपछि उनले धेरैतिर बुझे । र, वृद्धाश्रम या बाल आश्रमलाई जग्गा दान दिने निधोमा पुगे । बुझ्दै जाँदा मानव सेवा आश्रमसँग जोडिए । ‘मलाई राम्रो संस्थालाई जग्गा दान दिने विचार थियो,’ उनी भन्छन्, ‘मानव सेवा आश्रम ठीक लाग्यो ।’ मानव सेवा आश्रमका प्रतिनिधि रामजी अधिकारीसँग पटक–पटक छलफल भयो । अन्ततः पाँच वर्षअघि सहमति जुट्यो । प्रधानले झापा, मेचीनगरको बाहुनडाँगीस्थित आफ्नो नामको २ बिघा ५ कट्ठा जग्गा आश्रमलाई दान दिने निधो गरे । ‘मैले आश्रमसँग भनें– यो जग्गा, यी दुई आमा र एउटा गाई तपाईंहरूको जिम्मा,’ प्रधानले सम्झिए, ‘तर, म तपाईंहरूको कुनै सेवा लिन्नँ । आजदेखि म स्वतन्त्र भएँ ।’
त्यसपछि प्रधान भद्रपुरस्थित मालपोत कार्यालय पुगे र जग्गा मानव सेवा आश्रमका नाममा नामसारी गरिदिए । हाल मानव सेवा आश्रममा वृद्ध, असहाय, सडक मानव, बालबालिकासहित १ सय ४ जना आश्रित छन् । प्रधान पनि दुई श्रीमती लक्ष्मी र पूर्णमायाको साथमा आश्रमकै घरमा बस्छन् । ‘खाने, लगाउने, औषधि उपचारलगायतका सबै आधारभूत आवश्यकताको प्रबन्ध आश्रमले मिलाइदिएको छ,’ प्रधान भन्छन् ।
दोलखाको जिलु गाउँमा जन्मिए– रामबहादुर । १४–१५ वर्षको उमेरमै रोजगारीको खोजीमा घर छाडे । त्यसबेला धेरै युवाझैं उनी पनि ‘मुग्लान’ हानिए । वीरगन्ज–रक्सौलबाट रेल चढेर सिलिगुडी ओर्लिए । अनि जिप चढेर सिक्किम उक्लिए । अहिलेको भारतीय राज्य सिक्किम ऊ बेला स्वतन्त्र देश थियो ।
भारी बोक्ने, बाटो खन्ने काम पाए । गाउँमै मजदुरी गर्दा दिनभर फरुवा चलाएबापत पुरुषले २५ पैसा, महिलाले २० पैसा र बालबालिकाले १२ पैसा ज्याला पाउने समय थियो त्यो । सिक्किममा भारी बोक्दा श्रमको कदर भएको ठाने । तर, सधैं चिसो हुने त्यो हिमाली देशमा धेरै समय टिक्न सकेनन् । अनि झरे सिलिगुडीतिरै । सिलिगुडीमा ऊ बेला नेपालीभाषी बहुल थियो । सिलिगुडीका हरेक चोक, गल्ली र बाटोमा नेपाली अनुहार नै ठोक्किन्थे ।
सिलिगुडीमा एक जना नेपाली साथीसँग प्रधानको भेट भयो । ती साथीले पश्चिमतिर देखाउँदै भने, ‘हाम्रो नेपाल ऊ त्यहीं पर्तिर छ । जाने हो हेर्न ?’ साथीको कुरा सुनेर प्रधान छक्क परे । उनले सुरुमा नपत्याए पनि जान तयार भए । सिलिगुडीबाट मतिगडा–बागडोगरा हुँदै नक्सलबारी आइपुगे । नक्सलबारी बजारबाट उत्तरपश्चिम हुँदै उनीहरू मेची तरेर बाहुनडाँगी पुगे । ‘यति नजिकै नेपाल देखेर म त छक्कै परें’, रोमाञ्चित हुँदै प्रधानले बेलिविस्तार लगाए, ‘नेपाल टेकेपछि त मलाई फर्किनै मन लागेन ।’
यो हो वि.सं. २०२० सालतिरको कुरा । त्यतिबेला पूर्व–पश्चिम राजमार्ग भर्खरै खनिँदै थियो । मेची खोलामा भर्खरै पुल बनेको थियो । बाहुनडाँगीका तोयाराज भारतीसँग उनको चिनापर्ची भयो । सिक्किममा भारी बोकेर जोहो गरेको केही हजार भारु र दोलखाको जग्गा बेचेर ल्याएको केही हजार मिलाएर उनले बाहुनडाँगीमा जग्गा किन्ने निधो गरे । ‘ऊ बेला बिघाको चार हजार रुपैयाँमा जग्गा किनेको थिएँ,’ उनी सम्झन्छन् ।
उनले खेतीपातीसँगै धान र मकैको ‘वारिपारि’ व्यापार पनि गरे । गाउँमा सस्तोमा धान–मकै किनेर नक्सलबारी बजारमा महँगोमा बेच्थे । भारतीय बजारमा बिक्री गर्दा दोब्बर नाफा बस्थ्यो । व्यापारले विस्तारै आर्थिक हैसियत बढ्दै गयो । ‘दुःख त कति गरियो, कति । अहिले सम्झिँदा सपनाझैं लाग्छ’, विगत सम्झिएर उनी भावुक बने । अहिले जीवनको उत्तरार्धमा आफ्नो जायजेथा आश्रमलाई दिने निर्णय गरेको उनले बताए । करोडौं मूल्यको जग्गा दान गर्दा आफूलाई गर्व लागेको उनी सुनाउँछन् । ‘हामी नभए पनि हाम्रो जमिनमा सयौं असहाय, गरिब, वृद्ध र बालबालिका रमाइरहनेछन्’, प्रधान थप्छन्, ‘योभन्दा ठूलो सन्तोष हाम्रा लागि के हुन सक्ला र ?’
साभारःकान्तिपुर दैनिक ।

