एम्बापेको फ्रान्सलाई हालान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ ।
सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स सोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुशीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो ।

सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स यसपालि तेस्रो उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको छ । प्रतियोगिताका थुप्रै दाबेदारमध्ये फ्रान्स पनि सम्भावित च्याम्पियनको सूचिमा पर्ने टिम हो ।  केलियन एम्बापेको प्रेरणा रहने टिममा ह्युगो इकिटिके, ओसमान डेम्बेले र माइकल ओलिसे जस्ता खेलाडीको उपस्थितिले फ्रान्सलाई प्रतियोगिताको मुख्य दाबेदारमध्ये एकका रुपमा उभ्याएको छ ।

जुनअघि नै खेलिएका मैत्रीपूर्ण खेलमा ब्राजिललाई २–१ तथा कोलम्बियालाई ३–१ को नतिजामा हराएर पनि फ्रान्सले विश्वकपका प्रतिद्धन्द्धीहरुलाई बेलैमा सन्देश दिइसकेको छ । तर जुनको सुरुआतमा आइभोरी कोष्टसँग २–१ ले पराजित भएको नतिजाले भने फ्रान्सको टिममा समस्या पनि रहेको देखाउँछ ।

फ्रान्सका प्रशिक्षिक डिडियर डेसच्याम्पस अमेरिकामा गरिएको टिमको आवगमन तथा प्रशिक्षण लगायतका अन्य व्यवस्थापनसँग त्यति सन्तुष्ट छैनन् । अमेरिकाको कडा सुरक्षा जाँच, नर्वेविरुद्धको खेल हुने मासाचुसेट्सको फक्सबोरोको बाक्लो ट्राफिक लगायतका विषयले डेसच्याम्पसको टाउको दुखाइरहेको छ ।

‘यहाँको ट्राफिक निक्कै डरलाग्दो छ । रंगशाला पुग्न नै सवा घण्टाभन्दा बढि लाग्ने अवस्था छ । त्यसले खेलाडीलाई अप्ठेरो पार्छ,’ मार्चमा ब्राजिलसँग मासाचुसेट्समा मैत्रीपूर्ण खेल्दाको स्मरण सुनाउँदै डेसच्याम्पसले विश्वकपको दौरान ती समस्यामा सुधार हुनुपर्ने माग राखेका छन् ।
सन् २०१२ देखि निरन्तर फ्रान्सेली टोलीको नेतृत्वमा रहेका डेसच्याम्पसले यो विश्वकप टोलीसँग आफ्नो अन्तिम प्रतियोगिता हुने संकेत गरेका छन् । उनले केही अन्तरवार्ताहरुमा विश्वकपपछि राजीनामा गर्ने विचारमा रहेको बताएका छन् ।

फ्रान्स
यसपालि उपाधि जित्न सके फ्रान्स विश्वकप इतिहासमा ३ वा त्योभन्दा बढि पटक विश्व च्याम्पियन बन्ने पाँचौं टिम हुनेछ । विश्वकप इतिहासमा ब्राजिल ५ उपाधिका साथ सबभन्दा माथि छ भने जर्मनी र इटालीले समान ४ पटक उपाधि जितेका छन् । अर्जेन्टिनाको नाममा ३ उपाधि छ ।

एम्बापेले चार वर्षअघि कतारमा भएको विश्वकप २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । सन् १९६६ मा इङ्ल्यान्डका जियोफ हस्र्टपछि विश्वकप इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न एम्बापे सफल भएका थिए । दोहामा एम्बापेले कुल ८ गोल गरेका थिए । फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

२७ वर्षको जोशिलो उमेर र करियरको उच्च फर्ममा रहेका एम्बापेले फ्रान्सको राष्ट्रिय टोलीका लागि ५६ गोल गरिसकेका छन् । फ्रान्सेली फुटबलमा उच्च अन्तर्राष्ट्रिय गोलकर्ताको दौडमा एम्बापे ओलिभर जिरोडभन्दा १ गोलले मात्र पछि छन् ।

सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपको उपाधि जितेपछि फ्रान्स २०२१ को युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पराजित भएको थियो । विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना तथा युरो २०२४ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग निराश भएको थियो । यसपालि ती सबै निराशा मेटाउँदै डेसच्याम्पसलाई विदाई उपहार दिने फ्रान्स टिमको योजना छ ।

टिम फ्रान्स
गोलकिपर : माइक माइग्नान (एसी मिलान), रोबिन रिसेर (लेन्स), ब्रिस साम्बा (रेनेस)
रक्षक : लुकास डिग्ने (एस्टन भिल्ला), मालो गुस्टो (चेल्सी), लुकास हर्नान्डेज (पेरिस सेन्ट जर्मेन), थियो हर्नान्डेज (अल हिलाल), इब्राहिमा कोनाटे (लिभरपुल), जुल्स कोन्डे (बार्सिलोना), म्याक्सेन्स ल्याक्रोइक्स (क्रिस्टल प्यालेस), लिलियम सालिबा (आर्सनल), डायुट उपामेकानो (बायर्न म्युनिख)
मिड्फिल्डर : एनगोलो कान्टे (फेनेरबाचे), मानु कोने (एएस रोमा), एड्रियन र्याबिओट (एसी मिलान), औरेलिन टिचौमेनी (रियाल मड्रिड), वारेन जाइरे इमेरी (पेरिस सेन्ट जर्मेन)
फरवार्ड : माघ्नेस एक्लिउचे (मोनाको), ब्राड्ली बार्कोला (पेरिस सेन्ट जर्मेन), रायन चेर्की (म्यानचेस्टर सिटी), औसमान डेम्बेले (पेरिस सेन्ट जर्मेन), डिजायर डोउइ (पेरिस सेन्ट जर्मेन), जिन फिलिप माटेटा (क्रिस्टल प्यालेस), किलियन एम्बापे (रियाल मड्रिड), माइकल ओलिसे (बायर्न म्युनिख), मार्कुस थुराम (इन्टर मिलान)
प्रशिक्षक : डिडियर डेसच्याम्पस

नर्वे

विश्वकपमा नर्वेको यो मात्र चौथो सहभागिता हो । सन् १९९८ यता नर्वे विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फर्किएको यो पहिलो पटक हो । यसपाली नर्वेको टोली विश्वकै सर्वोत्कृष्ट मानिएका २५ वर्षे स्ट्राइकर एर्लिङ हालान्डको नेतृत्वमा हुनेछ ।  इङ्लिस प्रिमियर लिगको टोली म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलिरहेका हालान्डको स्कोरिङ फर्म पछिल्ला वर्षहरुमा एकरुपले उच्च छ । पछिल्ला चार सिजनदेखि उनले लगातार सिटीका लागि सर्वाधिक ३० गोल गरिरहेका छन् । नर्वेका लागि उनले ४९ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

युरोपेली छनोट प्रतियोगितामा पनि हालान्डकै प्रेरणामा नर्वेले सफलता प्राप्त गर्दै अमेरिकाको टिकट काटेको थियो । ‘नर्वेलाई विश्वकपमा पु¥याउनु हामी सबैको लागि ठूलो जिम्मेवारी थियो । त्यसलाई सफलता साथ पूरा गरेका छौं,’ हालान्ड भन्छन्, ‘अब विश्वकपमा पनि सफल नतिजाको ठूलो जिम्मेवारी छ । त्यसलाई पनि पूरा गर्नुछ ।’

हालान्ड र नर्वेका लागि आसन्न विश्वकपमा अर्को एउटा ठूलो संयोग पनि जुरेको छ । उनका पिता एल्फीले सन् १९९४ मा अमेरिकामै सम्पन्न विश्वकपमा नर्वेको टिमबाट खेलेका थिए । उत्तर अमेरिकी विश्वकपमा एर्लिङ हालान्डसँगै ३० वर्षे एलेक्जेन्डर सोर्लोथ अर्का भरपर्दा स्कोरर हुन् । सँगै मिडफिल्डर मार्टिन ओडेगार्ड, जसले कप्तानका रुपमा टिमको नेतृत्व गर्नेछन् । उनीबाट पनि नर्वेले प्रभावशाली प्रदर्शनको आशा राख्नेछ । तर उनी घुँडा र पाखुराको चोटका कारण वितेको सिजनमा मैदानमा अपेक्षित रुपमा जम्न सकेका थिएनन् ।  युरोपियन च्याम्पियनसिप २००० पछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो नर्वेको पहिलो उपस्थिति हुनेछ । युरो २००० मा नर्वे समूह चरणबाटै बाहिरिएको थियो ।

टिम नर्वे
गोलकिपर : ओर्जान हास्कजोल्ड नाइल्यान्ड (सेभिया), इजिल सेल्भिक (वाट्फोर्ड), सान्डर टाङ्भिक (ह्यामबर्गर)
रक्षक : जुलियन रियर्सन (बोरुसिया डर्टमण्ड), मार्कुस होल्मग्रेन पेडेर्सेन (टोरिनो), डेविड मोलर उल्फी (उल्भस), फ्रेड्रिक जोर्कान (बोडो-ग्लिम्ट), क्रिस्टोफर एजेर (ब्रेन्टफोर्ड), टोर्बजर्न हेजेम (बोलोग्ना), लियो स्किरी ओस्टिगार्ड (जिनुवा), सोन्ड्रे लान्गास (डर्बी), हेनरिक फाल्चेनेर (भाइकिङ)
मिड्फिल्डर ; मार्टिन ओडेगार्ड (आर्सनल), सान्डेर बेर्गे (फुलह्याम), फ्रेड्रिक औस्नेस (बेन्फिका), प्याट्रिक बर्ग (बोडो-ग्लिम्ट), क्रिस्टियन थोर्सभेड्ट (सासौलो), मोर्टेन थोर्सबाई (क्रेमोनेसे), थियो आसगार्ड (रेन्जर्स)
फरवार्ड : इर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), एलेक्जेन्डर सोर्लोथ (एट्लेटिको मड्रिड), जोर्गेन स्ट्रान्ड लार्सेन (क्रिस्टल प्यालेस), एन्टोनियो नुसा (आरबी लाइपजिग), ओस्कार बब (फुलह्याम), एन्ड्रेस जेलडेरुप (बेन्फिका), जिन्स पिटर हग ((बोडो-ग्लिम्ट)
प्रशिक्षक : स्टेल सोलबाकेन

सेनेगल

लगातार तेस्रो पटक विश्वकप खेल्न लागेको सेनेगल अफ्रिका कप अफ नेशन्समा हालै मोरक्कोमा भएको विश्व फुटबलकै ठूलामध्येको एक विवादले घेरिएको छ । गत जनवरीमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक मोरक्कोलाई हराएर उपाधि जिते पनि खेलको अन्त्यतिर टिमले देखाएको व्यवहारका कारण सेनेगलले अफ्रिका कप अफ नेशन्सको उपाधि मोरक्कोलाई सुम्पनु परेको थियो । रेफ्रीको निर्णयमाथि असहमति जनाउँदै सेनेगलका खेलाडीले मैदान छोडेका कारण अनुशासनको कार्वाहीस्वरुप अफ्रिकी फुटबल महासंघले उपाधि सेनेगलसँग खोसेर मोरक्कोलाई दिएको थियो ।

मोरक्कोलाई पेनाल्टी दिने रेफ्रीको निर्णयमा असहमति जनाउने क्रममा प्रशिक्षक पेपे थियाउको निर्देशनमा सबै खेलाडीले मैदान छोड्दा १५ मिनेटसम्म खेल अवरुद्ध भएको थियो । त्यही कारण सेनेगलको उपाधि खोसिए पनि टोलीले उक्त निर्णयविरुद्ध अपिल गरेको छ । सन् २००२ को विश्वकपको पहिलो खेलमै साविक विजेता फ्रान्सलाई हराएर विश्वभर तहल्का मच्चाएको अफ्रिकी महारथी सेनेगल सन् २०२१ मा पनि अफ्रिका कप अफ नेशन्समा च्याम्पियन भएको थियो । त्यतिबेला गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै सेनेगलले उपाधि उचालेको थियो । हाल ३४ वर्षमा पुगेका साडियो मानेले निर्णायक पेनाल्टीमा गोल गर्दै सेनेगललाई उपाधि जिताएका थिए ।

सेनेगल फुटबलका सर्वकालीन उच्च अन्तर्राष्टिर्य गोलकर्ता मानेको नाममा ५५ अन्तर्राष्ट्रिय गोल छन् । विश्वकपको अफ्रिकी छनोट प्रतियोगितामा पनि उनले टिमका लागि सर्वाधिक ५ गोल गरेका थिए । सेनेगलको टोली अमेरिकामा अर्को सनसनीको खोजीमा रहँदा मानेसँगै गोलकिपर इडुवार्ड मेन्डी, मिड्फिल्डर इद्रिसा गुइये र रक्षक कालिडो कौलिबालीबाट उच्च प्रदर्शनको अपेक्षामा हुनेछ । किनकी सेनेगललाई आफूले जितेर पनि अफ्रिका कप अफ नेशन्सको उपाधि खोसिँदा लागेको चोटमा अमेरिकाबाट मल्हम लगाउनुछ । त्यसका लागि टोली विश्वकपमा कम्तिमा पनि अरु अफ्रिकी टोलीको भन्दा राम्रो नतिजा ल्याउन चाहन्छ ।

टिम सेनेगल
गोलकिपरः इडुवार्ड मेन्डी (अल आहली), मोरी डिउ (ले हार्भे एसी), येहभान डिउफ (निस)
रक्षक : क्रेपिन डियाटा (मोनाको), एन्टोनी मेन्डी (निस), कालिडोउ कौलिबाली (अल हिलाल), इल हाड्जी मालिक डिउफ (वेस्ट ह्याम), मामाडोउ सार (चेल्सी), मौसा नियाखाटे (लियोन), मौस्टाफा एमबो (पेरिस एफसी), अब्दुल्लाये सिक (मकाबी हाइफा), इस्माइल ज्याकोबस (गालाटासरे), इले क्यामरा (एन्डरलेक)
मिड्फिल्डर : इद्रिसा गाना गुइये (एभर्टन), पेपे गुइये (भियारियाल), लामिन क्यामरा (मोनाको), हबिब डियारा (सन्डरल्यान्ड), पाथ सिस (रायो भायेकानो), पेपे माटर सार (टोटनहम), बारा सापोको एनडियाये (बायर्न म्युनिख)
फरवार्डः साडियो माने (अल नासर), इस्माइला सार (क्रिस्टल प्यालेस), इलिमान एनडियाये (एभर्टन), असाने डियाओ (कोमो), इब्राहिम एमबाये (पेरिस सेन्ट जर्मेन), निकोलस ज्याक्सन (चेल्सी), बाम्बा डिइङ (लोरियन्ट), चेरिफ एनडियाये (सामसनस्पर)
प्रशिक्षक : पेपे थियाउ

इराक

एसियाली फुटबलमा आफ्नै खालको रवाफ रहे पनि विश्वकपमा भने इराकको इतिहास त्यति गर्व गर्न लायक छैन । टोली सन् १९८६ यता पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई छानिएको हो ।

विश्वकपमा ४० वर्षको अनुपस्थिति पूर्नका लागि इराकले अन्तर महादेशीय प्लेअफमा बोलिभियालाई पराजित गरेको थियो । मोन्टेरीमा ३० वर्षे स्ट्राइकर एइमिन हुसेन र अली अल हमादीले गोल गरेपछि बोलिभियालाई २¬–१ को नतिजामा हराउँदै इराके ४८औं टिमका रुपमा विश्वकप २०२६ लाई छानिएको थियो ।

१९८६ को मेक्सिको विश्वकपमा इराक समूह चरणमा आयोजक मेक्सिको, बेल्जियम र पाराग्वेविरुद्धका ३ वटै खेलमा पराजित हुँदै घर फर्किएको थियो । आफ्नै देश अस्ट्रेलियालाई दुई फरक कार्यकाल प्रशिक्षकको रुपमा नेतृत्व प्रदान गरेका ग्राहम आर्नोल्ड इराकको प्रशिक्षक हुन् । उनको काँधमा ४० वर्षअघि ३ मा ३ खेल हारेको इराकलाई कम्तिमा १ खेल जिताउने जिम्मेवारी हुनेछ । त्यसका लागि उनलाई एइमिन हुसेन, मोहनाद अली र मिड्फिल्डर मिर अल अम्मारीको साथ हुनेछ ।

टिम इराक
गोलकिपर : फाहद तालिब (अल तालाबा), जलाल हसन (अल जावरा), अहमद बसिल (अल शोर्टा)
रक्षक : हुसेन अली (पोगोन एसजेजेसिन), मानफ युनिस (अल शोर्टा), हअमद याहया (अल शोर्टा), मुस्तफा साडून (अल शोर्टा), जाइद ताहसिन (पाख्ताकोर), रुबिन सुलाका (पोर्ट), हकम हासिम (अल जावरा), मेर्चास डोस्की (भिक्टोरिया प्लाजेन), जाइद इस्माइल (अल तालाबा), फ्रान्स पुट्रोस (पेर्सिब)
मिड्फिल्डर : अमिर अल अमारी (क्राकोभिया), केभिन याकुब (आर्हुस जिएफ), जिदान इकबाल (युट्रिचेट), एइमार शेर (सार्पस्बर्ग), इब्राहिम बायास (अल धाफ्रा), अहमद कसिम (नासभिल एससी), युसुफ एमिन (एइके लर्नाका), मार्को फार्जी (भेनेजिया)
फरवार्ड : अली जसिम (अल नाज्मा), अली अल हमादी (इप्सविच), अली युसेफ (अल तालाबा), एइमेन हुसेन (अल कार्मा), मोहम्मद अली (दिब्बा)
प्रशिक्षक : ग्राहम आर्नोल्ड

समूह ‘आई’ खेलतालिका (नेपाली समयअनुसार)
– फ्रान्स विरुद्ध सेनेगल, १७ जुन, मध्यराति १२ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)
– इराक विरुद्ध नर्वे, १७ जुन, बिहान ०३ः४५, जिलेट रंगशाला (बोस्टन)
– फ्रान्स विरुद्ध इराक, २३ जुन, बिहान ०२ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– नर्वे विरुद्ध सेनेगल, २३ जुन, बिहान ०५ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)
– नर्वे विरुद्ध फ्रान्स, २७ जुन, मध्यराति १२ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)
– सेनेगल विरुद्ध इराक, २७ जुन, मध्यराति १२ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)

साभारः अन्नपुर्ण दैनिक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *