पाकिस्तानद्वारा डोनाल्ड ट्रम्पको ‘अब्राहम एकर्ड्स’मा सहमति जनाउने प्रस्ताव अस्वीकार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम–बहुल देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम एकर्ड्स’ स्वीकार गर्न गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ । इरानसँग चलिरहेको वार्तासँग जोडेर ट्रम्पले पाकिस्तान लगायतका देशहरूलाई ‘अब्राहम एकर्ड्स’मा सहमत हुन आग्रह गरेका थिए ।

पाकिस्तानका रक्षामन्त्री आशिफ ख्वाजाले देशको मौलिक विचारधाराविपरीत हुने कुनै पनि सम्झौतामा इस्लामाबाद सहभागी नहुने बताएका छन् । साथै, प्यालेस्टिनी राज्यको स्थापनाबिना इजरायललाई मान्यता नदिने पाकिस्तानको लामो समयदेखिको अडानलाई पुनः दोहोर्‍याएका छन् । पाकिस्तानी सञ्चारमाध्यम सामा टीभीसँगको अन्तर्वार्तामा आसिफले भने, “व्यक्तिगत रूपमा मलाई हामी हाम्रा मौलिक विचारधारासँग बाझिने यस्तो कुनै पनि सम्झौतामा सामेल हुनुपर्छ जस्तो लाग्दैन ।”

इजरायलसँगको सम्बन्धको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनले थपे, “तपाईं ती मानिसहरूसँग कसरी बस्न सक्नुहुन्छ, जसको प्रतिबद्धतामाथि एक दिन पनि विश्वास गर्न सकिँदैन ?”पाकिस्तानको आधिकारिक धारणा दोहोर्‍याउँदै रक्षामन्त्रीले भने, “हाम्रो स्पष्ट अडान छ कि यो हाम्रा लागि स्वीकार्य छैन ।” आसिफले इजरायलसम्बन्धी पाकिस्तानको राहदानी नीतिको पनि चर्चा गर्दै भने, “अर्को कुरा, हाम्रो राहदानीमा इजरायलको नाम समेत समावेश नभएको विश्वकै एक मात्र देश हामी हौँ ।”

ट्रम्पले सम्भावित अमेरिका–इरान सम्झौतासँग जोडिएको व्यापक कूटनीतिक समाधानको हिस्साका रूपमा अब्राहम एकर्ड्सको विस्तारका लागि दबाब दिएको केही घण्टापछि रक्षामन्त्रीको यो भनाइ आएको हो ।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लामो पोस्ट गर्दै इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको  बताएका थिए । साथै, साउदी अरेबिया, बतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन लगायतका देशहरूलाई उक्त सम्झौतामा सामेल हुन आग्रह गरेका थिए ।

ट्रम्पले लेखेका थिए, “इरानको इस्लामिक गणतन्त्रसँगको वार्ता राम्रोसँग अघि बढिरहेको छ । यो कि त सबैका लागि उत्कृष्ट सम्झौता हुनेछ, कि कुनै सम्झौता नै हुने छैन ।” ट्रम्पले इरानसँगको सम्झौतापछि साउदी अरब र कतार तुरुन्तै उक्त विषयमा सामेल हुनुपर्ने बताएका थिए । साथै, वार्ता सफल भएमा तेहरान आफैँ पनि अन्ततः यस ढाँचाको हिस्सा बन्न सक्ने संकेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *