आज तिहारकाे मुख्यदिन घरघरमा दिपावली गरी मनाइदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका  घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि आरम्भ हुने तिहारलाई यमपञ्चक पनि भनिन्छ । विशिष्ट मौलिक संस्कृतिका रूपमा रहेको तिहारका पहिलोदिन आइतबार काग तिहार मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार आज सोमबार नरक चतुर्दशी भएकाले बिहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा गरिने छ । तिहारको पहिलो दिन कागको पूजा गरी कागलाई मिठा परिकार दिने गरिन्छ । तिहारको दोस्रो दिन कुकुरलाई टीका र माला लगाइदिने र मिठा परिकार दिने प्रचलन छ ।

अध्यक्ष ढकालले कात्तिक ५ गते गोबर्धन पूजा, म्हःपूजासँग नेपाल संवत् ११४६ सुरु हुने बताए  । तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली र सयपत्रीको माला लगाइदिने प्रचलन छ ।

प्राध्यापक ढकालले यमराजलाई बहिनी यमुनाले सत्कार गरेर आफ्ना माइतीका रूपमा पूजा गरेको भनी पौराणिक ग्रन्थबाट बुझ्नुपर्ने बताउदै भने  “भाइटीका कात्तिक ६ गते हो । शुभसाइत बिहान ११:३९ बजे तोकिएको छ । तर व्यक्तिगत रूपमा मेरो आग्रह छ– साइतलाई सामान्य माने पनि हुन्छ । दिनभरि नै साइत हो । बिहान सूर्योदयदेखि साँझसम्म लगाए हुन्छ ।”

फेरिएको संस्कृति 

संस्कृति एवं तन्त्रविद् डा. मिलनकुमार थापा तिहारको संस्कृति केही परिवर्तन भएको बताउछन् । उनले देश राजनीतिक रूपमा सङ्कटमा रहे पनि तिहार पर्वले धार्मिक सद्भाव, आर्थिक समुन्नति र एकता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताए ।

उनले भने , “नेपालमा कात्तिक महात्म्यलाई आधार मानेर पौराणिक वैदिक विधिबाट तिहार मनाइन्छ । तर हामीभन्दा अगाडिको पुस्ताले कुवेर यन्त्र, लक्ष्मी यन्त्र आदिलाई तन्त्र विधिबाट पूजा गर्ने प्रचलन पनि थियो । अहिले सामान्य पूजा विधिबाटै काम चलाउने गरिन्छ ।”

डा. थापाले सनातन हिन्दू समाजमा तिहार मनाउने प्रचलनमा फरक फरक रहेको बताउदै भन्छन  भारतको बङ्गालमा आइतबारदेखि नै कालरात्रिको पूजा गर्ने प्रचलन छ र लक्ष्मी पूजासँगै काली देवीलाई पूजा गरिन्छ  ।

उनले भने , “नेपाली समाजको आफ्नै विशिष्ट मौलिक पक्ष छ । तिहारले पशुपन्छीप्रतिको सद्भाव झल्काउँछ । दिदीबहिनी र दाजुभाइमा आपसी प्रेम र विश्वास अभिवृद्धि गर्छ । लक्ष्मीको उपासनाले समुन्नतिका लागि अग्रसर हुन उत्प्रेरित गर्छ । त्यसैले नेपाली मौलिक चाड तिहारको विशिष्ट सांस्कृतिक महत्त्व छ । त्यसैले मौलिक पक्षलाई समेटेर आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *