यी देशमा सामाजिक परिवर्तनको अग्रदूत बनेको थियो विद्यार्थी आन्दोलन

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हालै नेपालमा भएको जेन–जीहरूको विरोध प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालिदियो । भ्रष्टाचारको अन्त्य हुनुपर्ने, सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध हटाइनु पर्ने लगायत मुद्दाबाट सुरु भएको जेन–जीको आन्दोलन केही हदसम्म आफ्नो मागमा सफल पनि भयो । आन्दोलन र यसपछि मर्नेको संख्या ३४ पुगिसकेको छ । सयौं घाइतेको अस्पतालमा उपचार भइरहेको छ । सिहंदरबार, सर्वोच्च अदालत र संसद् भवन मात्रै होइन, देशभरमा कैयौँ सरकारी भवनहरू जलेर ध्वस्त भएका छन् । यो आन्दोलनबाट देशले कस्तो निकाश पाउला यो भने हेर्न बाँकी नै छ ।

तर आधुनिक इतिहासमा विद्यार्थी आन्दोलनले सत्ता ढालेका र क्रान्तिकारी राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको अग्रदूत बनेका यस्ता कैयौं उदाहरण पाइन्छन् । कुनै क्रान्ति परिवर्तन ल्याउन सफल भएका छन् भने कुनैलाई नयाँ व्यवस्थाले पुनः कुल्चिएको उदाहरण पनि छन् । तर हारजीत जे जस्तो अवस्थामा पनि युवाहरू राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको उत्प्रेरक बन्न छाडेका छैनन् । सन् १९६८ को विद्यार्थी आन्दोलनले नै फ्रान्सको अनुहार फेरेको इतिहास छ । ल्याटिन अमेरिका र अमेरिकामा पनि विद्यार्थीहरूको आवाजले आमूल परिवर्तन ल्याए । सन् १९७९ को इस्लामिक क्रान्तिको अग्रभागमा विद्यार्थी नै रहेका थिए ।

सन् १९६८ को फ्रान्को विद्यार्थी विद्रोह 

१९६८ मा पेरिसको एउटा उपनगरबाट सुरु भएको विद्यार्थी विद्रोह छिट्टै नै आम हडतालमा परिणत भयो । राम्रो काम गर्ने अवस्थाको माग गर्दै झन्डै एक लाख कामदार सडकमा उत्रिए । पेरिस बीसौं शताब्दीको तेस्रो दशकपछिको सबैभन्दा खराब दंगाको चपेटामा आएको थियो । यतिबेला सम्पूर्ण फ्रान्स ठप्प भएको थियो ।

आन्दोलनमा फ्रान्सेली राष्ट्रपति चार्ल्स डे गौलको सरकार त बाँच्यो, तर फ्रान्स सधैंको लागि फेरियो । सहिष्णु र धर्मनिरपेक्ष समाजको लागि मार्गप्रशस्त भयो । यो समाजमा श्रमिकको ज्याला पहिलेभन्दा धेरै राम्रो भयो । फ्रान्सको १९६८ को यो कथाले आज पनि धेरैमा विद्रोही भावनाहरूलाई प्रेरित गर्छ ।

ल्याटिन अमेरिका

ल्याटिन अमेरिकी विद्यार्थी आन्दोलनको सूची लामो छ । शैक्षिक असमानता र नवउदारवादी नीतिहरूविरुद्ध विद्यार्थीहरूद्वारा २०११–१३ को बिचमा चिलीमा शीतकालीन प्रदर्शनदेखि १९६८ मा मेक्सिको सिटीमा ओलम्पिकअघि अधिनायकवादविरुद्ध मेक्सिकन विद्यार्थीको आन्दोलनसम्म यसको इतिहास हेर्न सकिन्छ । यो आन्दोलनलाई क्रूरतापूर्वक दबाइएको थियो । यो सूचीमा सैन्य तानाशाहीविरुद्ध अर्जेन्टिनाको प्रतिरोध र निकारागुआमा ओर्टेगा शासनलाई चुनौती पनि समावेश छन् ।

अमेरिका 

विश्वको सबैभन्दा शक्तिशाली प्रजातान्त्रिक देश हो अमेरिका । यो व्यवस्थाले त्यहाँ विश्वको सबैभन्दा सक्रिय केही विद्यार्थी संगठनहरू पनि जन्माएको छ । बीसौं शताब्दीको ६० र ७० को दशकमा विद्यार्थीहरूले पृथकीकरण र भियतनाम युद्धविरुद्ध लडे । अमेरिकी विद्यार्थीहरूले घरेलु समस्याबाहेक मुद्दालाई पनि हेरेका छन् । सन् १९८० को दशकमा रंगभेदको विरोधमा उनीहरूले चलाएको आन्दोलनले सुदूरदक्षिण अफ्रिकामा सुधार ल्यायो । हिजोआज अमेरिकी विश्वविद्यालयहरू प्यालेस्टाइन–इजरायल द्वन्द्वमा विभाजित देखिन्छन्, तर भविष्यमा यस विषयमा सहमति उत्पन्न हुने सम्भावना पनि यथावत् छ ।

इरानको १९७९ इस्लामिक क्रान्ति

इरानका शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्ने सन् १९७९ इस्लामिक क्रान्तिमा विश्वविद्यालयका विद्यार्थीहरू प्रमुख रूपमा सहभागी थिए । हालका वर्षहरूमा त्यहाँका विद्यार्थीहरूले धर्मनिरपेक्षता र अमेरिकासँगको घनिष्ठ सम्बन्धको लागि आन्दोलन गरिरहेका छन् । रोचक कुरा के छ भने अघिल्ला पुस्ताका विद्यार्थीहरूले यी दुवैको विरोध गरेका थिए । नयाँ व्यवस्था पनि पुरानोजत्तिकै दमनकारी साबित हुन सक्छ भन्ने कुरा इतिहासले देखाएका छन् । अयातोल्लाहको कठोर शासनले इरानमा विद्यार्थीको नेतृत्वमा अर्को विद्रोहलाई उक्साइरहेको छ ।

१९८९ को तियानमेन स्क्वायर नरसंहार

सन् १९८९ मा तियानमेन स्क्वायरसहित चीनभरि विद्यार्थी नेतृत्वमा व्यापक विरोध प्रदर्शन भयो । लोकतान्त्रिक सुधार र भ्रष्टाचारको अन्त्यको माग गर्दै विद्यार्थीले यी प्रदर्शन गरेका थिए । ३–४ जुनको रातमा सेनले विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाए । बौद्धिक स्वतन्त्रता, बजारमा सुधार र प्रजातन्त्रको माग गर्दै युवाहरू देशभरका सडकमा उत्रिएका थिए । तियानमेन स्क्वायर नरसंहारको रूपमा चिनिने घटनामा धेरै प्रदर्शनकारीहरू मारिए ।

यतिबेला चीनमा यस्ता खालका विरोध प्रदर्शन विरलै देख्न पाइन्छ । तर तियानमेन कान्डको समयमा सेतो सर्ट र कालो ट्राउजर लगाएका पुरुषले ट्याङ्कहरूको लहरलाई रोकेको तस्वीर अझै पनि कम्युनिस्ट दमनको प्रतिरोधको झल्को दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *