सवारी जाम घटाउन कोटेश्वरमा दुई फ्लाइओभर र सुरुङमार्ग

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कोटेश्वर क्षेत्रमा ट्राफिक जाम घटाउन दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बन्ने भएको छ। आठ वर्षभित्र यो काम सक्ने गरी सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ३० अर्ब ८ करोड रुपैयाँबराबरको ऋण लिने भएको छ। सडक विभागका महानिर्देशक विजय जैशीले कोटेश्वर क्षेत्रमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढिसकेको बताए।

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोटेश्वमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रयोजनका लागि जाइकाबाट सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।जाइकाले फ्लाइओभर र सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ। जसअनुसार तीनकुने पुलबाट कोटेश्वरको मुनिभैरव मन्दिर नजिकसम्म करिब ६ सय मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ।

मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको किनारा (जडीबुटी) सम्म सात सय मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ।जडिबुटीबाट मनोहरा खोलाको पुलसम्म जोड्नेगरी २ सय ३८ मिटर लामो अर्को फ्लाइओभर निर्माण गरिने विभागले जनाएको छ।

विभागका अनुसार कोटेश्वर क्षेत्रमा निर्माण गरिने फ्लाइओभर ग्वार्को चोकमा बनेको जस्तो मोडलको हुने छैन। बिचबिचमा पिलर भएका फ्लाइओभर निर्माण गरिने विभागका इन्जिनियरले जनाएका छन्।

कोटेश्वर क्षेत्रमा निर्माण हुने सुरुङमार्ग भने कट एन्ड कभर मोडलको हुनेछ। कट एन्ड कभर मोडल भनेको पहिले माटो खन्ने, त्यसपछि माटोले पूर्दै जाने हो। नागढुंगामा सुरुङमार्ग बनाउन खनेको जस्तो गरी कोटेश्वरमा खनिने छैन। ‘होचा जमिन भएकाले कोटेश्वरमा कट एन्ड कभर मोडल अपनाइने भएको हो,’ महानिर्देशक जैशीले भने।

जाइकाले सन् २०३३ को अगस्टसम्म फ्लाइओभरको सबै काम सक्ने जनाएको छ। जाइकाले ऋण सम्झौतादेखि निर्माण पूरा नहुँदासम्मको विस्तृत कार्यतालिका बनाएको छ। जसअनुसार सन् २०२५ सेप्टेम्बरमा ऋण सम्झौता, डिसेम्बरमा ऋण सम्झौताको प्रभावकारी कार्यान्वयन, २०२६ मेमा परामर्शदाताको नियुक्ति, २०२६ जुनदेखि २०२७ मेसम्म परामर्शदाताले विस्तृत डिजाइन तयार गर्ने छ।

२०२७ जुनमा ठेकेदार कम्पनी छनोट, २०२८ अप्रिलमा ठेकेदार कम्पनीसँग सम्झौता र अगस्ट २०३३ मा सबै काम पूरा गर्ने जाइकाले जनाएको छ।विभागका महानिर्देशक जैशीका अनुसार कोटेश्वर चोकमा सुरुङमार्ग बनाउन नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सकारात्मक प्रतिक्रिया दिएको छ।

प्राधिकरणले सकारात्मक प्रतिक्रिया दिएकाले प्रक्रिया अघि बढाइएको उनले जनाए। विभागका अनुसार कोटेश्वरमा जाम घटाउन जाइकाले विभिन्न विकल्पमा पूर्वसम्भाव्यता अध्ययन गरेको थियो।

ती विकल्पमध्ये जाइकाले तयार गरेको ‘एलग्मिेन्ट टु के टु आर’ मोडेलमा सरकारले सहमति जनाएको हो। उक्त मोडलअनुसार फ्लाइओभर र सुरुङमार्ग निर्माण गर्ने गरी सरकारले जाइकासँग ऋण लिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *