रौतहट — रौतहट सदरमुकाम गौरको राइसमिल मैदानका दुईतिर धमाधम मञ्च तयार हुन थाले । उत्तरतिर माओवादी र दक्षिणतर्फ मधेशी जनअधिकार फोरमका नेता-कार्यकर्ता मञ्च निर्माणमा जुटिरहेका थिए । फोरमको मञ्चमा अलि सजिसजावट देखिन्थ्यो भने माओवादीको सामान्य ।
२०६३ चैत ७ को अपराह्न दुवै पार्टीले सभाका लागि मानिस भेला गराउन थाले । हातमा बाँसको लठ्ठी बोकेका फोरमका कार्यकर्ताको जुलुस बिहान ११ बजे नगर परिक्रमा गरेर कार्यक्रमस्थल पुगेको थियो । माओवादीले पनि दिउँसो २ बजे नगर परिक्रमा र र्याली सुरु गरेको थियो । नगर परिक्रमा सकेर मैदान प्रवेश गरेको माओवादी आफ्नो मञ्च भत्किएको देखेपछि आक्रामक बन्यो र फोरमतर्फ जाइलाग्यो । दुवैबीच भीषण झडप भयो । यही झडपमा ५ महिलासहित २७ माओवादीको ज्यान गयो । घाइते ४२ जनामध्येकै एक हुन्, त्रिभुवन साह ।
घटनाको सत्यतथ्य छानबिनका लागि आफूले डेढ दशक अनवरत काठमाडौं र जिल्ला धाएको उनी सुनाउँछन् । अहिले पनि साह त्रिवि शिक्षण अस्पताल र र नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।
घटनापछि अनुसन्धानको नाममा ‘भद्दा मजाक’ भएको देखेपछि न्यायका लागि २०६४ सालदेखि निरन्तर काठमाडौं र गृहजिल्ला रौतहट धाएको साहले बताए । ‘प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, धर्ना जुलुस र काठमाडौंमा प्रधानमन्त्री, गृहमन्त्रीलाई गौर घटनाको सत्यतथ्य छानबिनका लागि ज्ञापनपत्र बुझाउन दौडधुप गरेँ । यहीबीच लाखौं ऋण लाग्यो,’ उनी सुनाउँछन्, ‘यति ठूलो घटनाको अनुसन्धान गर्नुपर्छ भन्ने राज्य पक्षले बुझ्ने कुरा हो । जिल्ला प्रहरीले जाहेरी दर्ता गरेर चुप बसेको देख्दा आश्चर्य लाग्छ ।’
प्रहरीले माथिको आदेश छैन भनेर बेइमानी गरिरहे पनि न्यायालयबाट एक दिन छानबिनको आदेश हुनेमा उनी ढुक्क थिए । गौर हत्याकाण्डपछि जिल्ला प्रहरीमा २४ जना प्रमुख (एसपी) फेरिएका छन् । तर उनीहरुले घटनामा संलग्न भनेर कर्तव्य ज्यानमुद्दा दर्ता भएको फाइलको अनुसन्धानको नामै लिन चाहेनन् । अधिकांश एसपीको एउटै स्वर थियो- माथिको आदेश छैन ।
२०६० सालमा भूमिगत अवस्थामा सुरक्षाफौजले साहलाई रौतहटको सिर्सियाबाट पक्राउ गरेको थियो । उनलाई गौर हिरासतमा राखेका बेला बुवा मनोज साहको निधन भयो । उनले २०५६ सालमै आमा जमुनीदेवीलाई गुमाइसकेका छन् । आफू टुहुरो भएको र सारा जीवन राजनीतिमा व्यतीत गरेको अवस्थामा घाइते भएर न्याय माग्दा अवस्था नाजुक बन्दै गएको उनले सुनाए । आर्थिक अवस्था कमजोर रहेका साहकी एक छोरी छन् ।
यही घटनामा मारिएका रौतहटको साबिक सरमुजवा –६ का ४० वर्षीय नरधेश्वर उपाध्यायलाई न्याय दिलाउन श्रीमती रुपसागर उपाध्यायले साहलाई साथ दिइरहेकी छन् । उनी गौर हत्याकाण्ड संघर्ष समितिको संयोजकसमेत हुन् । रुपसागरले ढिलै भए पनि अनुसन्धानको ढोका बल्ल खोलेको बताइन् ।
राजनीतिक दउपेचमा दब्दै आएको यो घटनाको छानबिन प्रतिवेदन बाहिर ल्याउन र आरोपितमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि यतिखेर साहलगायत घटनाका घाइते र मृतकका परिवारमा झिनो आशा पलाएको छ । घटनामा तत्कालीन फोरम (हाल जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुने भएको छ ।
