नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ । डार्विनमा शुक्रबार भएको खेलमा जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ र ओपनर आशिफ शेखले ११ रन बनाए  ।

बलिङमा नर्दन टेरिटोरी स्ट्राइकरका म्याट ह्यामन्डले तीन विकेट लिए भने  केन रिचर्डसन र थोमस एन्ड्रयुले दुई दुई तथा हामिस मार्टिनले एक विकेट लिए  ।

यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धाीरत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७७ रन बनाएको थियो ।

नर्दन टेरिटोरीका लागि डार्सी सटले सर्वाधिक ५१ रन बनाए  यस्तै टम एन्ड्रियुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनोर क्यारोलले १८, क्याडल म्याकम्यहोनले १२ र ज्याक वेदरएल्डले ११ रनकाे याेगदान दिए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए  उनले चार ओभरमा ३८ रनकाे याेगदान दिए । यस्तै शाहब आलमले ३२ रन दिएर दुई विकेट तथा गुलसन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिए  ।

अगस्ट २४ तारिखसम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा दोस्रो खेल नेपालले अगस्ट १६ मा बङ्गलादेश ‘ए’ सँग खेल्नेछ । यस्तै नेपालले १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्ने पक्का भएको हो ।

नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ ।

नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *