खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि गरेको पाइएको छ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–३, छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहीबार राति मृत भेटिएका थिए। प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको खुलेको हो।
साउन २२ गते बिहीबार घरबाट हराइरहेका १० वर्षकी छोरी र चार वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए। सँगै हराएका अन्य चार जना बच्चा भने सकुशल भेटिएको पूर्व वडाध्यक्षसमेत रहेका स्थानीय इन्द्रबहादुर बस्नेतले जानकारी दिए । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्येष्टि गरिएको उनको भनाइ छ। यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार उक्त घटनाको विषयमा प्रहरीलाई कुनै जानकारी थिएन। जानकारी पाउनासाथ घटना स्थलबाट नजिकै रहेको दिप्रुङ चुइचुम्मा प्रहरी चौकीबाट प्रहरी खटाएर बुझ्दा घटना घटेको पाइएको मिश्रले बताए । उक्त घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। मृत भेटिएका बालबालिकाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम नगरी गाउँले मिलेर अन्त्येष्टि गरेको पाइएको छ।
मृतक बालबालिकाका बुवा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। श्रीमतीले अर्कै बिहे गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आएका थिए । प्राय सधैं छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले बिहीबार भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउँदै गर्नु भनेर विद्यालय एक्लै गएका थिए । तर, सो दिन विद्यालय नपुगेका छोराछोरी घरमा नभेटेपछि खोज्दैजाँदा जङ्गलमा मृत भेटिएको बताइएको छ।
नवराजका दुई छोरी र एक छोरासहित छिमेकीका तीन छोरी हराएका थिए। उनीहरू साप्सु खोला तरेर थ्रि स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ। घर फर्किँदा बाटो बिराएर उनीहरू वडा नम्बर २ स्थित खमारे भन्ने ठाउँमा पुगेका थिए। खमारेबाट एक व्यक्तिले बाटो चिनाइदिएपछि उनीहरू सापतेलतीर लागेका थिए। तर, घर नपुगेपछि खोज्दै जाँदा बुवा नवराजले आफ्ना दुई सन्तान मृत भेटेका हुन्। बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा खरुवा खोलामा जेठी छोरीको शव भेटिएको थियो। त्यसपछि विद्यालयका प्रधानाध्यापक लगायत गाउँलेलाई बुवा नवराजले खबर गरेको स्थानीय बस्नेतले बताए । छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको उनको भनाइ छ ।
नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटोमुनि ओढारमा भेटिएका थिए। सँगै आइरहेका साथी एक्कासी पछाडि नदेखिएपछि उनीहरू पनि खोज्दै फर्किएको तर नभेटेपछि आफुहरू अलपत्र परेर बसेको बताएका थिए। बिहीबार राति करिब ८ बजेको समयमा आफ्नै बुवाले मृत भेटेका बच्चाहरू रातभरि गाउँलेले त्यही रुँगेर शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरिएको बस्नेतको भनाइ छ। लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरिएको गाउँलेले बताएका छन् ।
