काठमाण्डाैमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाण्डाैमा  ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ भएको छ  । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित उदघाटन  कार्यक्रममा  प्रधानमन्त्री के पीओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरण पनि गरे  ।

कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गरे  ।

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  फुटबल फर स्कुल कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीले केही दिनअघि मात्र नेपालमा आएर यस कार्यक्रम सञ्चालनको जानकारी दिएका थिए  ।

फिफाले यस कार्यक्रमअन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध गराउने छ । यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य पनि राखिएको छ ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *