शान्ति वार्ताको एक दिनअघि रूसमाथि युक्रेनको भीषण हमला

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

टर्कीमा हुन लागेको युद्धविराम वार्ताकै पूर्वसन्ध्यामा युक्रेनले रूसमाथि सम्भवतः अहिलेसम्मकै ठूलो र साहसिक आक्रमण गरेको छ। तीन वर्षअघि रूसले हमला गरेपछि सुरू भएको युद्ध अन्त्य गर्न टर्कीमा सोमबार शान्ति वार्ता हुने तय भएको थियो। त्यसको ठिक एक दिनअघि आइतबार युक्रेनले ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरेर रूसमाथि हमला गरेको हो।

उसले आफ्नो भूमिबाट हजारौं किलोमिटर टाढा रहेका रूसी सेनाका चार हवाई अड्डामा आक्रमण गरेको छ। यस क्रममा रूसका ४१ वटा विमान (टियू-९५, टियू-२५ र ए-५०) ध्वस्त पारिएको युक्रेनको दाबी छ। यीमध्ये टियू-९५ र टियू-२५ रूसका बमवर्षक विमान (बम्बर) हुन्। बमवर्षक विमान भनेका लडाकू विमान (फाइटर जेट) भन्दा ठूला हुन्छन्। यसले धेरै भारी बोक्न सक्छ र टाढासम्म उड्न सक्छ।

लडाकू विमानको प्रयोग अरू लडाकू विमानसँग लड्न र तुलनात्मक हलुका तथा कम शक्तिशाली मिसाइल प्रहार गर्न हुन्छ। जबकि, लडाकू विमानभन्दा महँगा र थोरै संख्यामा हुने बमवर्षक विमानको प्रयोग लड्नमा हुँदैन। आणविक हतियार लगायतका शक्तिशाली मिसाइल हान्न मात्र बमवर्षक विमान प्रयोग गरिन्छ। रूसले युक्रेनसँगको युद्धमा यी विमान प्रयोग गरेर सीमाभन्दा धेरै परबाट क्रुज मिसाइल प्रहार गरिरहेको छ। ए-५० ले भने दुश्मनका विमान पत्ता लगाउन र खुफिया सूचना दिएर लडाकू विमानमाथि निशाना साँध्न सहयोग गर्छ। यो बमवर्षकभन्दा महँगो हुन्छ।

रूससँग तीन दशकभन्दा अघि बनेका टियू-९५, टियू-२५ र केही आधुनिक टियू-१६० गरी बढीमा १२० वटाजति मात्र बमवर्षक विमान भएको मानिन्छ। तीमध्ये झन्डै एकतिहाइ ध्वस्त पारेको युक्रेनको दाबी सही हो भने अब रूसलाई युक्रेनमाथि क्रुज मिसाइल प्रहार गरिहरन मुश्किल हुनेछ। त्योभन्दा ठूलो कुरा त, अमेरिका लगायतका पश्चिमा राष्ट्रसँग युद्ध छेडियो भने बमवर्षक विमानको कमी रूसलाई खड्किनेछ।

रूसले टियू-९५ र टियू-२५ धेरै पहिले नै बनाउन छाडिसकेको छ। त्यसैले युक्रेनी हमलामा क्षति भएका यस्ता विमान मर्मत गर्न मुश्किल पर्ने मानिएको छ। आधुनिक टियू-१६० बनाउन पनि धेरै समय लाग्ने बताइन्छ।

युक्रेनले रूसमाथिको पछिल्लो हमलालाई ‘इस्पाइडर्स वेब’ नाम दिएको छ। युक्रेनको गुप्तचर संस्था एसबियूले १८ महिनाभन्दा लामो योजनाअनुसार आइतबार उक्त हमला गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनको प्रत्यक्ष निगरानीमा अति गोप्य ढंगले उक्त योजना कार्यान्वयन गरिएको थियो।

हमलाको योजना बनाउन युक्रेनले रूसभित्र गएर रूसी गुप्तचर संस्था एफएसबीको कार्यालयकै छेउमा एसबियूको कार्यालय खोलेको पनि राष्ट्रपतिले खुलासा गरेका छन्। योजनामा संलग्न आफ्ना सबै अधिकारी रूसबाट फर्किसकेपछि मात्र हमला गरिएको उनको भनाइ छ। यसमा ११७ वटा साना खालका ड्रोन प्रयोग गरिएको उनले जानकारी दिएका छन्।

आक्रमण गरिएका चार हवाई अड्डामध्ये दुइटा रूसी राजधानी मस्कोबाट २०० देखि ३०० किलोमिटर टाढा छन्। ‘ओलेन्या’ नामको तेस्रो हवाई अड्डा युक्रेनी सीमाबाट घटीमा १८ सय किलोमिटर टाढा छ। त्यस्तै, साइबेरिया प्रान्तमा पर्ने चौथो हवाई अड्डा ‘बेलया’ युक्रेनबाट ४२ सय किलोमिटरभन्दा टाढा पर्छ।

युक्रेनले आफ्नो सीमाबाट त्यति परसम्म प्रहार गर्न पहिले साना खालका ड्रोन गोप्यरूपमा रूसभित्र पठाएको थियो। ती ड्रोन राख्न काठका क्याबिनजस्ता साना बाकस बनाइएका थिए। ती काठका क्याबिनलाई ट्रकपछाडि कन्टेनरजस्तै राखेर हवाई अड्डा नजिक पुर्‍याइएको थियो। कतिपय ट्रक चालकलाई त कन्टेनरमा के छ भन्ने पनि थाहा नभएको मानिन्छ। त्यसपछि आक्रमण गर्न क्याबिनको छाना खोलेर केही किलोमिटर परबाटै ड्रोनको हुल पठाइएको थियो।

गत वर्षको आखिरीदेखि अमेरिका लगायत पश्चिमा राष्ट्रले करिब ३०० किलोमिटरसम्म प्रहार गर्न सक्ने हतियार रूसभित्र पनि प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको थियो। त्यसपछि रूसले आफ्ना लडाकू विमान र अरू महँगा उपकरण युक्रेनबाट टाढा राख्न थालेको थियो।

युक्रेनले यसअघि आफैले बनाएका केही ठूला ड्रोन प्रयोग गरेर हमला गर्दै आएको थियो। खासगरी रातको समय रूसका विभिन्न ठाउँमा रहेका तेल प्रशोधन केन्द्र लगायतका पूर्वाधारमा हमला गरिएका थिए। युक्रेनले त्यस्ता ठूला ड्रोन प्रयोग गरेर सीमाबाट केही सय किलोमिटर परसम्म हमला गर्न सक्छ भन्नेबारे रूस सचेत थियो। तर दिनको उज्यालोमै साना ड्रोन प्रयोग गरेर सीमाबाट सयौं किलोमिटर टाढाका हवाई अड्डामा पनि प्रहार होला भनेर रूसले चिताएकै थिएन।

साना ड्रोनले धेरै शक्तिशाली हतियार बोक्न सक्दैनन्। त्यही भएर ती ड्रोनले बमवर्षक विमानको इन्धन ट्यांकीमा निशाना साँधेर सिंगो विमान ध्वस्त पारेका थिए। हमलापछि युक्रेनले सार्वजनिक गरेको भिडिओ विश्लेषण गरेर विज्ञहरूले यस्तो जानकारी दिएका हुन्।

यो योजना कार्यान्वयन गर्न युक्रेनले आफू सोभियत संघको अंग रहेका बेला संग्रहालयमा राखिएका पुराना टियू-९५ र टियू-२५ विमान परीक्षणका रूपमा प्रयोग गरेको थियो। परीक्षण क्रममा ती बमवर्षक विमानको इन्धन ट्यांकी कहाँ छ हेरेर त्यसैबमोजिम निशाना साँध्न ड्रोनलाई ‘प्रोग्रामिङ’ गरिएको विज्ञहरूले बताएका छन्।

‘युक्रेनी अधिकारीहरूले चेस खेलेजस्तै चाल चलेर यो आक्रमण गरेको देखिन्छ,’ बेलायती पत्रिका द इकोनोमिस्टले युक्रेनी स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘यसका लागि केही हवाई अड्डामा पहिल्यै आक्रमण गरिएको थियो। उक्त आक्रमणपछि रूसले आफ्ना विमानहरू निश्चित हवाई अड्डामा सारोस् भनेर योजना बुनिएको थियो।’ द इकोनोमिस्टका अनुसार रूसले तीन दिनअघि मात्र ओलेन्या हवाई अड्डामा केही दर्जन विमान सारेको थियो। सबभन्दा धेरै क्षति पनि त्यहीँ भयो।

रूसले भने आफ्नो हवाई अड्डामा आक्रमण भएको पुष्टि गरे पनि सामान्य क्षति मात्र भएको बताएको छ। तर युक्रेनसँगको युद्ध विश्लेषण गर्दै आएका केही रूसी सैन्य विज्ञले भने रूसलाई ठूलो क्षति भएको स्वीकार गरे भनेर विभिन्न मिडियाले लेखेका छन्। उनीहरूका अनुसार रूसलाई सात अर्ब डलर बराबर क्षति भएको दाबी गरिएको छ।

युक्रेनले रूसमाथि गरेको यो हमलासँग एउटा संयोग पनि परेको छ। बेलायती पत्रिका ‘द टाइम्स’ का अनुसार आजभन्दा २९ वर्षअघि जुन १ कै दिन युक्रेनले बुडापेस्ट सम्झौताअनुसार आफूसँग भएका केही दर्जन टियू-९५ र टियू-२५ विमान रूसलाई फिर्ता दिएको थियो।

सन् १९९४ को बुडापेस्ट सम्झौतापछि युक्रेनले सोभियत संघबाट अलग्गिँदा आफूसँग रहेका आणविक हतियार पनि रूसलाई फिर्ता गर्न मानेको थियो। त्यति बेला १५ सयभन्दा बढी साना आणविक हतियार र १७६ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसलाई फिर्ता गरिएको थियो। ती आणविक हतियार प्रहार गर्न प्रयोग हुने टियू-९५ र टियू-२५ बमवर्षक विमान सन् १९९६ जुन १ का दिन फिर्ता गरिएका थिए। अमेरिका र रूसले फकाएर बेलायत समेतको रोहवरमा युक्रेनको स्वतन्त्रता र सुरक्षाको लिखित ग्यारेन्टी दिँदै उक्त सम्झौता हस्ताक्षर गरिएको हो।

त्यसको ठ्याक्कै २९ वर्षपछि युक्रेनले साना ड्रोन प्रयोग गरेर रूसका महँगा बमवर्षक विमान ध्वस्त पार्नु अमेरिका, चीन लगायत संसारका शक्तिशाली देशका सैन्य जनरलहरूका लागि पाठ पनि भएको छ। आणविक हतियार भएका सबै देशले आकाशबाट ती हतियार प्रयोग गर्न महँगा बमवर्षक विमान राखेका हुन्छन्। साना र सस्ता ड्रोन प्रयोग गरेर यस्ता महँगा बमवर्षक विमान ध्वस्त पार्न सकिने भएपछि उनीहरूका लागि नयाँ सुरक्षा खतरा बढेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्ला दिन युक्रेनमाथि ड्रोन र मिसाइलले तीव्र आक्रमण गरिरहेका छन्। रूसी मिसाइलबाट जोगाउन युक्रेनले अमेरिकामा बनेको प्याट्रियट एन्टी मिसाइल डिफेन्स सिस्टम प्रयोग गर्छ। तर पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको समयमा दिइएका त्यस्ता मिसाइल (इन्टरसेप्टर) सकिँदै गएका छन्। हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले थप मिसाइल नदिने संकेत देखिएकाले युक्रेनका लागि रूसी मिसाइल अझ ठूलो खतरा बन्दै गएको छ।

यस्तो समय रूसले टाढाबाट क्रुज मिसाइल हान्न प्रयोग गर्ने बमवर्षक विमानमाथि नै युक्रेनले प्रहार गरेको हो। बमवर्षक विमानहरू ठूलो संख्यामा ध्वस्त भए रूसले गर्ने मिसाइल हमला कम हुने युक्रेनको विश्लेषण देखिन्छ। यति मात्र होइन, टर्कीमा सोमबार हुने वार्ताअघि आक्रमण गरेर रूसलाई युद्धविराम निम्ति दबाब सिर्जना गर्ने पनि युक्रेनी मनसुबा हुनसक्छ। ट्रम्पको पहलमा रूस-युक्रेन युद्धविराम निम्ति अमेरिकाले मध्यस्थता गरिरहेको छ। ट्रम्पले सार्वजनिक र निजी रूपमा पनि युद्धविरामका लागि दुवै देशमाथि दबाब दिँदै आएका छन्।

अमेरिकाले राखेको ३० दिनको अस्थायी युद्धविराम प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्। उनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्नुपर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागको पनि स्वामित्व दिनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले मे १९ मा पुटिनसँग फोनवार्ता गरेपछि युद्ध रोकिने अपेक्षा धेरैले गरेका थिए। तर दुई घन्टाको फोनवार्तामा पनि ट्रम्पले पुटिनलाई मनाउन सकेनन्। त्यसपछि रूसले तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

युद्ध रोक्ने कदम चाल्नुको साटो पुटिनले उल्टै युक्रेनमाथि आक्रमण तीव्र बनाएका छन्। त्यही भएर ट्रम्पले पछिल्ला दिन पुटिनबारे कडा टिप्पणी गर्न थालेका छन्। पुटिनले वार्ता गरेजस्तो देखाएर आफूलाई खेलाइरहेको भन्दै ट्रम्पले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफलसमेत थालेका छन्।

टर्कीमा सोमबार हुने वार्तामा पनि रूस शान्तिका लागि गम्भीर देखिएन भने ट्रम्पले रूसविरूद्ध कडा कदम चाल्न सक्ने अपेक्षा गरिएको छ।

पुटिनले आफू विजयी भइरहेको ठानेर युद्ध लम्ब्याइरहेका छन्। त्यही भएर युक्रेनले आफू पनि रूसलाई नोक्सान पुर्‍याउन सक्षम छु भन्ने सन्देश दिन आइतबारको हमला गरेको मानिन्छ। कतिले भने युक्रेनले पनि युद्धविराम नचाहेको र रिसको झोँकमा रूसले नै वार्ता छाडोस् भनेर त्यत्रो ठूलो हमला गरेको दाबी गरेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पछिल्लो हमलापछि पनि वार्ता टोली टर्की पठाउने दृढता व्यक्त गरे। रूसले अहिलेसम्म युद्धविरामका लागि आधिकारिक सर्त लिखित रूपमा राखेको छैन। युक्रेनले भने रूससामु राख्ने आफ्ना सर्त टुंगो लगाइसकेको छ।

‘फाइनान्सियल टाइम्स’ का अनुसार युक्रेनले आकाश, जमिन र समुद्रमा पूर्ण र बिनासर्त युद्धविराम हुनुपर्ने बताएको छ। उक्त युद्धविरामको अनुगमन अमेरिकाले गर्नेछ। त्यसपछि सबै बन्दीको रिहाइ, रूसमा जबर्जस्ती लगिएका युक्रेनी बालबालिकाको फिर्ती र जेलेन्स्की र पुटिनबीच भेटघाट हुनुपर्ने छ।

रूसले फेरि आक्रमण नगरोस् भनी सुनिश्चित गर्न सुरक्षा ग्यारेन्टी पनि युक्रेनले माग गरेको छ। रूसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभागमाथि गर्दै आएको दाबीलाई अन्तर्राष्ट्रिय मान्यता दिनु हुँदैन भन्ने पनि युक्रेनको सर्त रहेको फाइनान्सियल टाइम्सले लेखेको छ।

त्यस्तै, युक्रेनको सैन्य शक्तिमा कुनै सीमा लगाउन नहुने र रूसमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्ध बिस्तारै हटाइनुपर्ने छ। रूसले सम्झौता तोड्यो भने फेरि प्रतिबन्ध लगाउनुपर्ने युक्रेनको माग छ। उसको सर्तअनुसार अमेरिका लगायत पश्चिमा राष्ट्रले जफत गरेको रूसी सम्पत्ति युक्रेनको पुनर्निर्माणमा खर्च गरिनुपर्ने छ।

रूसमाथि त्यत्रो ठूलो हमला गरेको भोलिपल्टै युक्रेनी टोली आफ्नो सर्त लिएर रूससँग वार्ता गर्न टर्की पुगिसकेको छ। कतिले भने आइतबारको क्षतिपछि रूस झन् आक्रामक हुने अपेक्षा गरेका छन्। केहीले त रूसले आणविक हतियार नै प्रयोग गर्न सक्ने खतरा पनि देखाएका छन्।

रूसको अस्तित्व खतरामा पर्न सक्ने स्थिति आए आणविक हतियार प्रयोग गर्ने रूसको घोषित नीति छ। आणविक हतियार प्रहार गर्ने बमवर्षक विमानहरू ठूलो संख्यामा ध्वस्त पारिएकाले रूसले यस्तो कदम चाल्न सक्ने खतरा औंल्याइएको छ।

तर आणविक हतियार प्रयोग गरे पश्चिमा राष्ट्रसँग आत्मघाती आणविक युद्ध हुने खतराबारे पुटिन जानकार छन्। रूसलाई भरथेग गरिरहेको चीनले पनि त्यसमा साथ दिने छैन। त्यसैले रूसले आणविक हतियार प्रयोग गर्ने सम्भावना कमै देखिन्छ।

युद्ध लम्ब्याइरहँदा युक्रेनलाई मात्र नभएर आफूलाई पनि क्षति हुन्छ भन्ने पाठ सिकेर यो ध्वंसात्मक युद्ध रोक्न पुटिन राजी भए आइतबारको युक्रेनी हमला सफल भएको मानिनेछ।

साभारः सेताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *