आजदेखि त्रि.अ. विमानस्थल सोह्र घण्टा खुल्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।  विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरलले भने , “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले आजदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए  । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने  आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ जना यात्रुले हवाईसेवा लिएका थिए  । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान/अवतरण भएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *