खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा निर्माण हुने पुलको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका छन् ।
प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवा खोलामा ट्रस ब्रिज मोटरेबल पुल निर्माण गरिनेछ । यो पुलले बर्खायाममा सवारी साधन आवतजावत ठप्प हुने समस्याको समाधान गर्नेछ । मोटरेबल पुल नहुँदा बर्खाको समयमा यस क्षेत्रमा यातायात सेवा बन्द हुने गरेको छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण गरेर सडकको स्तरोन्नति गरिएमा दिक्तेलबाट पूर्वी तराईका जिल्लाहरूमा आवजावत गर्न छोटो दुरी र सहज मार्ग बन्नेछ । यसले जिल्लाबासीका लागि समय र पैसा दुवैको बचत गर्नेछ । पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ ।
ट्रस ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रस प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउनेछ । उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रस तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सूर्य नारायण चौधरीले जानकारी दिए । शिलान्यासको दिन शनिबारनै केही स्टिल ट्रस पुल निर्माण स्थलमा पुर्याइएको छ । बाकी क्रमशः ल्याइने प्रमुख चौधरीले बताए । पुल निर्माणका अन्य पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालय गाइघाटमार्फत हुनेछ ।
उक्त कामको लागि भने टेण्डर खुलाउन बाकी रहेको मन्त्रालयले जनाएको छ । केही महिनाभित्र टेण्डर फाइनल गरेर बाकी पुल निर्माणको काम सुरु हुने मन्त्रालयका प्रदेश सचिव अशोक कुमार साहले बताए । गत फागुनबाट दिखुवा खोलामा पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्री राईले पहल सुरु गरेका थिए । निर्माण स्थलको अध्ययन, डिजाइन र लागत अनुमान सकिएको र अब टेण्डरको प्रकृयामा रहेको मन्त्री राईले बताए ।
स्टिल ट्रस भने जडान गरेर निर्माण स्थलमा ल्याउन थालिसकिएकाले अबको ६ देखि ७ महिनाभित्र दिखुवा खोलामा पुल निर्माण सम्पन्न हुने मन्त्री राईको भनाई छ । कालोपत्रको काम भईसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटर गरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको घर्तीभिरसम्म र सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ । घर्तीभिरमा ठूलो चट्टान भएकाले हाल जोड्ने काम भइरहेको छ । निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गरिएको छ ।
यसले अस्थायी रूपमा भए पनि स्थानीयवासीको आवागमनमा सहजता प्रदान गरेको छ । दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुने व्यवसायीहरूले बताएका छन् । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ र व्यापारिक गतिविधिलाई समेत थप बढावा दिनेछ ।
छोटो र सहज मार्गको विकासले ढुवानी लागत घटाउनेछ, जसले गर्दा स्थानीय बजारमा वस्तुको मूल्य पनि केही हदसम्म घट्नेछ । यसले आम उपभोक्तालाई फाइदा पुर्याउनेछ । पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले भने “अब खोटाङमा विकासले फड्को मार्नेछ, जिल्लामा अब यस्ता पुल र सडकहरू धेरै बन्नेछ, आजसम्म जिल्लाका नागरिकलाई सबैले झुक्याए अब त्यो छुट कसैलाई छैन ।” दिखुवा खोलामा निर्माण हुने मोटरेबल पुलले खोटाङ जिल्लाको पूर्वाधार विकासमा निक्कै महत्व राख्नुकासाथै स्थानीयवासीको जीवनयात्रालाई थप सहज र सुविधाजनक बनाउने छ ।
