शेखरको शंकाः अवैध पैसा भित्रिरहेको जस्तो छ, गभर्नरमा गडबड हुनसक्छ !

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा गडबड हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले रेमिटेन्सका नाममा एक महिनामा २ अर्ब भित्रिएको भन्दै यस्तो शंका व्यक्त गरेका हुन्।

‘गत महिना मात्रै करिब २ खर्ब रेमिटेन्स भित्रिएको तथ्यांक देखिन्छ,’ नेता कोइरालाले भने, ‘र, वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिटेन्स सम्भव देखिन्न। कतै रेमिटेन्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको हो की?’

यही कारण आफूलाई राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल हुनसक्ने शंका लागेको उनले बताए। उनले भने, ‘मलाई डर लाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ?’

आफ्नो चिन्ता त्यहाँ रहको पनि कोइरालाले बताए। ‘म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा । सभापति जीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ । डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ । म त्यसमा आश्वस्त छु । मलाई ढुक्क छ।’ तर शंकास्पद् रेमिटेन्सको अवस्था देख्दा र सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता आफूलाई रहेको उनले बताए।

यस्तै नेता कोइरालाले गभर्नर नियुक्तिमा संविधान मिचिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *