हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्ड बर्खाअघि सुचारु हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्डको कालोपत्रेको काम १५ दिनभित्र सम्पन्न हुने बताइएको छ ।

शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तगत पर्ने कुलेखानी–हुमाने भञ्जयाङ सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले अनुगमन गरे  ।

अनुगमनका क्रममा मन्त्री मास्केले बर्षा अघिनै सडक निर्माण कार्य सम्पन्न हुने देखिएको बताउदै  मन्त्रालयको योजनाअनुसारको समयावधि भित्र नै काम सम्पन्न हुने र मन्त्रालयले निरन्तर रूपमा यसको अनुगमन गरिरहेको जानकारी दिए  ।

‘यसअघि बर्खायाममा भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै यो आयोजनालाई बर्खा लाग्नुअघि सम्पन्न गर्ने लक्ष्य मन्त्रालयको रहेको छ । जसका लागि निर्माण व्यवसायी लगायत ठेकेदार कम्पनी र सरेकारवालासँग हामी निरन्तर समन्वयमा छौं । बर्खा अघि सडक सुचारु हुनेमा हामी विश्वस्त छौं’ मन्त्री मास्केले भने  ।

तीव्र गतिमा निर्माण कार्य भइरहेको सडकको भौतिक प्रगति ८० प्रतिशत भएको छ भने वित्तीय प्रगति ५५.४६ प्रतिशत रहेको छ । यता पूर्वाधार विकास कार्यालय बागमतीका प्रमुख सुजन भण्डारीले सडक निर्माण कार्य ४० करोड रुपियाँ लागतमा सम्पन्न हुने र सडक स्तरोन्नति कार्य असार मसान्तभन्दा अघि सम्पन्न हुने  बताए  ।

‘अबको १५ दिनमा कालोपत्रेको काम सम्पन्न हुन्छ । त्यसो त हामीले लक्ष्य अनुरूप नै सडक निर्माण कार्य सम्पन्न गर्ने देखिएको छ’ उनले भने  १२.६ किलोमिटर लम्बाई र ८.२० मिटर चौडाई (हुमानेदेखि कलंकी) सम्मको सडक कालोपत्रे हुने भएको हो । सडकको ८.५० किलोमिटर सतह कालोपत्रे तथा ४ किलोमिटर ढलान कार्य हुने भएको छ ।

मन्त्रालयका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९ सय १६ रुपियाँमा सडक कालोपत्रेका लागि सम्झौता गरिएको थियो । यो सँगै गत असोजमा गएको विपदमा बाढीका कारण बगाएको सडक खण्डको पनि पुनःनिर्माण कार्य सम्पन्न गरिएको छ  ।

यसअघि काठमाडौं पुग्नका लागि वैकल्पिक मार्गको रूपमा हेटौँडा भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो आवतजावत भइरहेको थियो ।

बाटो स्तरोन्नति सम्पन्न पछि छोटो दूरीमा काठमाडौँ देखि हेटौँडा र तराईदेखि काठमाडौँ पुग्न निकै सहज हुनेभएको इन्द्रसरोवर–४ का स्थानीय धनबहादुर स्यान्तानले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *