अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो संस्करणमा जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्यका विषयवस्तु तय गरिएको छ ।
आयोजकका तर्फबाट सगरमाथा संवाद व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरेर तयारी अवस्थामा पुगेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा हालसम्मका तयारीका बारेमा जानकारी दिदै समितिका संयोजक परराष्ट्रमन्त्री डा. आरजु राणाले संवादमार्फत नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिने प्रस्ट पारिन ।
विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिने विश्वास उनले व्यक्त गरिन साथै उनले, “यो संवाद नेपालको विश्वव्यापी मञ्च हो, नेपालका लागि मात्र नभई सबैका लागि सामूहिक मञ्च एवं एक महत्वपूर्ण अवसर पनि हो ” भनिन ।
उनले संवादको तयारीमा विभिन्न चरण पार गर्दै अन्तिम चरणमा प्रवेश गरेको औँल्यादै सो क्रममा पूर्वतयारीका रूपमा १० वटा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन ।
जेठ २ देखि ४ गतेसम्म राजधानीको सोल्टी होटेलमा आयोजना हुने सगरमाथा संवाद अन्तर्गत हुने विभिन्न सत्रको सबै खालको तयारी पूरा भएको परराष्ट्रमन्त्री राणाले उल्लेख गरिन । संवादमा विभिन्न १२ मुलुकका विदेशी उच्च प्रतिनिधिको सहभागिता सुनिश्चित गरिएको छ ।
विश्वका उच्च नेतृत्वको सहभागिता
स्वदेशी र विदेशी विशिष्ट पाहुनासहित ३५० जनाको प्रत्यक्ष सहभागिता रहने कार्यक्रममा पहिलो दिन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारत र चीनबाट उच्च नेतृत्व, कोप– २९ का अध्यक्ष, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितका सम्बोधन हुने जानकारी पनि उनले दिइन ।
चीनको १४ औँ राष्ट्रिय कंग्रेसको कमिटीका उपाध्यक्ष सियाओ ची, भारतका वातावरण, वन तथा जलवायुमन्त्री भूपेन्दर यादव, कोप–२९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोतमन्त्री बाबायभ, बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानका उपविदेशमन्त्री इकुइना अकिको नेपाल आउने भएका छन् ।
त्यस्तै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलाला, कतारका उपविदेशमन्त्री बदर ओमार अल दफा, कीर्गिस्तान राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमलोभा, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डे, सार्कका महासचिव गोलाम सरवरसहित विभिन्न देशका राजदूत, संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
समानान्तर सत्र लगातार
सगरमाथा संवादको उद्घाटनलगत्तै अन्तर्राष्ट्रिय सम्मेलनको ढाँचामा प्रमुख वक्तव्यसहितको उच्चस्तरीय सत्रको आयोजना गरिने छ । जसमा सहभागी मुलुक, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सङ्गठनका २३ प्रतिनिधिमण्डलका तर्फबाट आफ्ना धारणा आदानप्रदान गरिने छ । त्यसपछि समानान्तर सत्र सुरु हुने छ ।
विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित गर्दै हिमाली अर्थतन्त्रको दिगो व्यवस्थापन, उच्चदेखि तल्लोतटीय क्षेत्रसम्म जलवायु परिवर्तनको असर, त्यसको हानिनोक्सानी तथा लैङ्गिक तथा अन्तरपुस्तागत समता विषयमा छुट्टाछुट्टै सत्र जेठ २ गतेसम्म लगातार चल्ने छन् ।
जसमार्फत राजनीतिज्ञ, नीति निर्माता, विद्वान्, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन छलफल एवं विचार आदानप्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र सम्भावनामा जोड दिइने मन्त्री राणाले प्रस्ट्याइन् ।
