पूर्वराजा ज्ञानेन्द्रलाई चाँडै राजगद्दीमा राख्छौं : धवल शम्शेर राणा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने दाबी गरेका छन् । नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको उनको भनाइ छ  ।

राप्रपाले आज  सुर्खेतमा आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउन धेरै समय छैन ।’

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु हिजोबाट एक ठाउँ आउने योजनामा छन्, भन्दै महामन्त्री राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नुपर्दछ ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, सँस्कृति पनि पूनःस्थापना गर्ने राणाले बताए । १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रितिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टी भएको उनको आरोप छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन चैत्रमा राजधानी आउन सबैलाई आमन्त्रण गरे ।

कार्यक्रम बीरेन्द्र चोकमा कोणसभामा परिणत हुनु पूर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो । र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *