नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती तथा कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरूमध्ये अधिकांशका गुरु मोहन वैद्यले सक्रिया राजनीतिबाट संन्यास लिएका छन् ।पछिल्ला दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव वैद्यले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका छन् । वैद्यले राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रूपमा अनुुमोदन पनि गरिसकेको उनले बताए । पदबाट मोहन वैद्य किरणले स्वेच्छिक राजीनामा दिएका हुन् । ‘स्वास्थ्यका कारणले राजीनामा दिनुभएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ, अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ ।’
दम, निमोनियालगायतबाट वैद्य लामो समयदेखि पीडित छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको धेरैपटक उपचार भइसकेको छ । २००३ सालमा जन्मिएका वैद्य ४ असार २०६९ मा एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेदेखि निरन्तर कार्यकारी नेतृत्वमा थिए ।
२०४५ सालअघि पनि उनी पार्टी नेतृत्वमा थिए । नेकपा मसालका महामन्त्री रहेका उनले चर्चित सेक्टर काण्डपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व सुम्पिएका थिए । तर, प्रचण्डले समेत उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।
विभिन्न घटकसँग एकता भएर नेकपा माओवादी बन्यो । जसले १ फागुन २०५२ देखि दीर्घकालीन जनयुद्ध थाल्यो । त्यसबेला पनि उनले प्रचण्डलाई राम्रो साथ दिएका थिए । शान्तिपूर्ण राजनीतिमा आएर २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले ऐतिहासिक विजयी हासिल ग¥यो ।
वैद्य पनि संविधानसभा सदस्य बने । तर, कार्यकाल बाँकी छँदै उनले राजीनामा दिए । त्यसपछि उनको प्रचण्डसँग दूरी बढ्दै गएको थियो । २०६९ सालमा पम्फा भुसाल, रामबहादुर थापा, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका प्रभावशाली नेतालाई लिएर छुट्टै दल गठन गरे पनि उनले यी नेताको साथ पछि पाएनन् । १ जेठ २०७३ मा रामबहादुर थापा, पम्फा भुसाललगायत नेताले फेरि वैद्यलाई छोडेर प्रचण्डकै पार्टीमा फर्किए । त्यसपछि विप्लवलगायतका नेताहरूले समेत उनको साथ छोडेर छुट्टै दल गठन गरे ।
राजनीतिमा किरण र साहित्यमा चैतन्य उपनामले चर्चित मोहन वैद्य २०२५ सालमा पहिलोपटक जेल परेका थिए । उनका दर्शन र साहित्यका १० वटा कृति प्रकाशित छन् ।लेखक नरेन्द्रराज प्रसाईंका अनुसार मोहन वैद्य बाल्यकालमा पूर्ण धार्मिक रीतिरिवाजमा बाँधिएका थिए । आफ्ना बाबुआमाको अनुयायी भएर उनले राजा त्रिभुवनको स्वर्गारोहण हुँदा कपाल पनि खौरिएका थिए ।
प्रसाईंले २०७८ सालमा वैद्यनिकट मानिने मिर्मिरे अनलाइनमा उल्लेख गरेअनुसार किशोरकालको प्रवेशले उनीभित्र ती संस्कृति र परम्परा भनेका अन्धविश्वास हुन् भन्ने भावनाको जागृति भयो । त्यसैबेलादेखि उनले दलितले पकाएको खाना खानेदेखि कुखुराको मासुसमेत खान थाले । त्यति मात्र होइन बाहुनले हलो जोत्नु हुँदैन भन्ने परम्परासँग पनि उनले युद्ध गर्ने हेतु गोरु नारी खेत जोतेर हलोको अनौ पनि समातेका थिए ।
प्रसाईंका अनुसार मोहन वैद्य आफू सानो छँदै कांग्रेस र कम्युनिस्टलाई घृणा गर्थे । अनि, युवा अवस्थामा प्रवेश भएपछि उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवेशमाथि चिन्तन गर्न थाले । सोहीअनुरूप १८ वर्षको उमेरदेखि उनी कम्युनिस्ट पार्टीमा सक्रिय भए । उनी पुष्पलालबाट प्रेरित भए पनि निर्मल लामा र मोहनविक्रम सिंहलाई गुरु मान्छन् ।
