दलिए भागबण्डाकाे असर चिकित्सकहरू बिदेश पलाएन हुन बाध्य

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । हालै पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तारूढ दल कांग्रेस र एमालेको भागबन्डामा उपकुलपति नियुक्ति गरिएको छ ।

यसै पनि नेपालमा दर्ता हुनेमध्ये ७४ प्रतिशत चिकित्सक आकर्षक रोजगारी, वृत्ति विकास र अध्ययनका लागि विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ । त्यसमा भर्खरै अध्ययन पूरा गरेका देखि उपचार अभ्यासमा पोख्त चिकित्सकसमेत पर्छन् । नेपाल मेडिकल काउन्सिलमा सन् २०२० देखि २०२३ सम्म ८ हजार ६ सय २४ चिकित्सक दर्ता भएका थिए भने यही बीचमा ६ हजार ३ सय ६८ जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए ।

सन् २०२३ मा २ हजार ३ सय १८ चिकित्सकले विदेश जाने प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ । यो वर्ष २ हजार ६ सय ९२ नयाँ चिकित्सक काउन्सिलमा दर्ता भएका थिए । त्यसअघि २०२२ मा २ हजार ८५ नयाँ चिकित्सक दर्ता भएका थिए भने १ हजार ९ सय ५४ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएका थिए । यस्तै २०२१ मा १ हजार ७ सय १६ नयाँ चिकित्सक दर्ता भएका थिए । त्यो वर्ष १ हजार ३ सय २७ ले विदेश जान प्रमाणपत्र लिए । २०२० मा २ हजार १ सय ३१ नयाँ चिकित्सक दर्ता भएको र ७ सय ६९ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएको तथ्यांक छ ।

नेपालमा करिब ३५ हजार चिकित्सक दर्ता छन् । २०२० यता वार्षिक २ हजारदेखि साढे २ हजारसम्म चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् । २० भन्दा बढी मुलुकमा नेपाली चिकित्सक गइरहेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनीलगायतका देशमा नेपाली चिकित्सकको आकर्षण बढी देखिएको तथ्यांक छ । २०२३ मा ८ सय ४३ चिकित्सकले अमेरिका जान प्रमाणपत्र लिएका थिए । बेलायतका लागि ५ सय ५, माल्दिभ्स जान ३ सय ९५, भारत जान १ सय ८६, अस्ट्रेलियाका लागि १ सय ६६, यूएई जान १ सय ४२ जनाले प्रमाणपत्र लिए । २०२२ मा बेलायत जान ५ सय ९२, अमेरिका जान ४ सय ९६ र माल्दिभ्सका लागि ४ सय ५३ चिकित्सकले प्रमाणपत्र पाएका थिए ।

यही पृष्ठभूमिमा ४ चिकित्सा शिक्षण संस्थामा सत्तारूढ दुई दलले भागबन्डा गरेका छन् । स्वास्थ्यमन्त्री तथा सहकुलपति प्रदीप पौडेलको सिफारिसमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पाटनमा बुद्धिप्रसाद पौडेल, पोखरामा भरतबहादुर खत्री, बीपी (धरान) मा विक्रमप्रसाद श्रेष्ठ र कर्णाली (जुम्ला) मा पुजनकुमार रोकायालाई उपकुलपति नियुक्ति गरेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले दिए राजीनामा

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्डियोभास्कुलर विभागीय प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् । डा. कोइरालाले  सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो राजीनामा पत्र सार्वजनिक गरेका हुन् । उनले असोज ३० देखि लागू हुने गरी राजीनामा दिएका हुन् । हाल उनी अमेरिका पुगेका छन् ।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्– ‘म कार्डियोभास्कुलर विभागीय प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनको रुपमा कार्यरत रहेकोमा हाल व्यक्तिगत कारणले सो पदमा रहन असमर्थ रहेकाले १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले ३० असोज २०८२ देखि लागू हुने गरी राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन अनुरोध गर्दछु ।’

यसैबिच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सन्जालमा डा.काेइराला बिदेश पलाएन हुन लागेकाेमा दुख प्रकट गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *