जनकपुर,सिरहा र पर्साका लागि आइतबार वरिष्ठ मौसमविद् शान्ति कँडेलले तराई–मधेशमा अगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिन् । मध्यबर्खामै काकाकुल बनेको मधेशमा कँडेलको अनुमानले हर्ष फैलियो । तर, उनले तोकेको ३ दिन मंगलबारसम्म पानी पर्नु त कताकता बिहानैदेखि चर्किने घामले मधेश झन् व्याकुल बनेको छ । सुक्खा, खडेरी, चर्को गर्मी र जलसंकटसँग जुझिरहेको मधेश प्रदेशका लागि जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेका पछिल्ला अनुमान नमिल्दो छ ।
‘आगामी तीन दिन त्यस्तो सुक्खा हुने अवस्था चाहिँ देखिँदैन । आगामी केही दिनसम्म नै मधेशमा हल्कादेखि मध्यम वर्षा हुन्छ । आज (आइतबार) राति त भारी वर्षा पनि हुनसक्छ,’ वरिष्ठ मौसमविद् कँडेलको प्रक्षेपण थियो । तर, आइतबार बिहान मधेशको राजमार्ग दक्षिणका इलाकामा बिहानैदेखि सिमसिम पानी परे पनि दिउँसो घाम चर्किएको थियो । राजमार्ग आसपास भने मध्यम वर्षा भएको थियो ।
सिरहाको धनगढीमाई नगरपालिका–३ का किसान रामविलास महतो बर्सेनि दुई बिघामा धान खेती गर्छन् । यसपालि पानी नै नपरेपछि उनी अरू किसानजस्तै धान खेती गर्ने मुडमा थिएनन् । छिट्टै पानी पर्ने मौसम पूर्वानुमान सुनेर उनले एक साताअघि छिमेकीको निजी बोरिङबाट सिँचाइ गरेर धान रोपे । बोरिङधनीसहित मजदुरलाई पनि गरेर रोपाइँमा करिब १४ हजार खर्च भएको उनले बताए ।
तर, बोरिङबाट खेतमा भरिएको पानी अब सुकेको छ । यता, वर्षा पनि भएको छैन । जसका कारण रोकिएको धान नष्ट हुन थालेको छ । अहिले उनलाई धान रोपेर पछुतो भइरहेको छ । ‘अहिले मलाई फसेजस्तो हुँदैछ,’ उनले सुनाए, ‘धानमा पानी नहाल्ने हो भने लगानी बर्बाद हुने भयो, बोरिङबाटै फेरि पानी हाल्ने हो भने उत्पादनभन्दा खर्चनै धेरै भइहाल्छ ।’ किसानले यस्तो समस्या भोगिरहँदा कुनै पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनी बताउँछन् । मिर्चैया नगरपालिका–९ का किसान गुदरी यादवले त अहिलेसम्म धान रोपेकै छैनन् । बर्खाको पर्खाइमा धान रोप्नका लागि तयार पारिएको बीउ पनि सुक्न थालेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार मधेशमा मौसमले मेल नखाँदा किसान दोधारमा परेका छन् । असारभरि सुक्खा खेपेको मधेशमा साउन पहिलो साता बित्दा पनि वर्षा हुने छाँट छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाको दैनिक बुलेटिनलाई केलाउँदा मधेशमा पानी पर्ने अनुमान दिनहुँजसो गरिएको हुन्छ । तर, अनुमान एउटा र मधेशको मौसम अर्कै हुने लुकामारी चलेको छ ।
महाशाखाले सोमबारको बुलेटिनमा ‘राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना’ औँल्याएको थियो । तर, सोमबार राति मधेशमा हप्प गर्मी थियो भने बिजुली झ्यापझ्याप जाँदा रात्रिजीवन प्रभावित बनेको थियो । गत आइतबारको मौसम पूर्वानुमान हेरौँ, ‘हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन, चटयाङ र हावाहुरीसहित वर्षा भइरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउनु होला ।’ तर, आइतबार राजमार्ग वरिपरि मध्यम वर्षा भए पनि राजमार्ग भन्दा दक्षिणी इलाकामा बिहान थोरै समय सिमसिम पानी पर्यो । दिउँसोबाट त घाम नै चर्कियो ।
गत शनिबार महाशाखाले जारी गरेको बुलेटिनमा देशभर मधेश प्रदेशलगायत बागमती र गण्डकीका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको प्रक्षेपण गरे पनि शनिबार मदेशभरि पानी परेन् ।
गत शुक्रबार महाशाखाले गरेको अनुमान यस्तो थियो,‘शनिबार रातिदेखि नेपालमा भारी वर्षा हुनेछ । भारतको उत्तर प्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुनेछ । यसअघि बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सरिरहेको थियो । त्यसको प्रभावले सुक्खाको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा पनि राम्रै वर्षा गराउने अनुमान छ ।’ तर, त्यो प्रणाली बिहार हुँदै भारतको इलाहाबादतर्फ गएको थियो । त्यसको बादलको बाहिरी घेराले मात्र छोएकाले तराई–मधेशका केही जिल्लामा हल्का मात्र वर्षा गराएको थियो । केही गाउँमा भने बादल मात्र लागेको थियो ।
महाशाखाले गत बिहीबार बिहान जारी गरेको बुलेटिनमा ‘हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । आज(बिहीबार) दिउँसो देशभर साधारणतया बदली रहने’ उल्लेख गरेको थियो । बिहीबार देशभरका लागि एकमुष्ट गरिएको अनुमानजस्तो मधेशको मौसम रहेको थिएन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल वायुमण्डलमा भइरहेको गतिविधिका आधारमा पूर्वानुमान गरिने भएकाले कहिलेकाहीँ अनुमान ठ्याक्कै नमिल्न सक्ने बताउँछिन् ।
वर्षा नहुँदा मधेशमा जल संकट गहिरिएको छ । अन्नभण्डार मधेश प्रदेशमा जम्मा ४६ प्रतिशत मात्र रोपाइँ भएको छ । मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । खानेपानीको चरम अभाव भएका इलाकामा दमकल र ट्यांकरबाट पानी बाँडिदैछ ।
धनुषाको सबैला नगरपालिका–५ र ११ मा अन्तरराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनलले आपतकालीन खानेपानी वितरण कार्यक्रमअन्तर्गत आइतबारदेखि सफा पिउने पानीको जार वितरण गरिरहेको छ । पहिलो दिन आइतबार सबैला–५ का २ सय ११ घरघुरीलाई प्रति परिवार ६० लिटर पानीको जार वितरण गरिएको प्लान इन्टरनेसनलको जनकपुरस्थित कार्यालयले जनाएको छ । प्लान इन्टरनेसनल जनकपुरका प्रमुख रविशंकर पण्डितका अनुसार सबैलाको–५ र ११ मा खानेपानीको चरम संकट देखिएपछि स्थानीय साझेदार समाजिक विकास अनुसन्धान केन्द्रसँग मिलेर खानेपानी वितरण थालिएको हो । ‘प्लान इन्टरनेसनलले सबैलामा करिब १० दिनसम्म खानेपानी वितरण गर्ने योजना राखेको छ,’ प्रमुख पण्डितले भने,‘अवस्था नसुध्रिए खानेपानी वितरण कार्यक्रम निरन्तर चलिरहन्छ ।’
सबैला–५ र ११ मा चापाकल पुरै सुकेका छन् भने धेरै परिवार १५ दिनदेखि एक महिनासम्म पर्याप्त पानी बिना बसिरहेका छन् । प्लान इन्टरनेसनलले सबैलाका करिब १ हजार घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखेको पण्डितले जानकारी दिए । मधेश प्रदेशका ८ वटै जिल्लालाई प्रदेश सरकारले सुख्खाग्रस्त घोषणा गर्दै सहयोगका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले दातृ निकायसँग आग्रह गरेका थिए ।
‘मुख्यमन्त्रीज्यूको आग्रहपछि हामीले धनुषामा काम गर्ने ५ स्थानीय तहमध्ये सबैलामा खानेपानी चरम समस्या देख्यौं,’ प्लान इन्टरनेसनल जनकपुरका प्रमुख पण्डितले भने,‘खानेपानीको समस्या टार्न हामीले जार वितरण थालेका हौँ ।’
यस्तै, जिल्ला प्रशासन सप्तरीले सूचना जारी गर्दै ६ स्थानीय तहमा खानेपानी वितरणको तालिका सार्वजनिक गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुरुङ्गा नगरपालिका–१० थलाहा र सिस्वाका स्थानीयलाई कुशहा स्कुलबाट पानी लैजान अनुरोध गरेका छन् ।
यस्तै राजगढ गाउँपालिका–३, रुपनी गाउँपालिका–१ र २ को पिप्राही लोहान, विष्णपुर गाउँपालिका–२ सिमराहा, अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ मटिगढी र राजगढ गाउँपालिका–१ मा दुईवटा ट्यांकरबाट खानेपानी वितरण भइरहेको सप्तरी प्रशासनले जनाएको छ ।
वीरगन्जमा दैनिक ५ लाख लिटर पानी वितरण
एक महिनायता चापाकलमा पानी आउन बन्द भएपछि वीरगन्ज र आसपासको क्षेत्रका बासिन्दा खानेपानीको हाहाकार कायमै छ ।
खानेपानीको अभाव कम गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, वीरगन्ज महानगरपालिकाको कार्यालय, खानेपानी संस्थान तथा नेपाली सेनाको समन्वयमा ट्यांकर मार्फत महानगरका विभिन्न क्षेत्रमा पानी वितरण भइरहेको छ ।
प्रदेश सरकारले उपलब्ध गराएका ८ ओटा वारुणयन्त्र र वीरगन्ज महानगरपालिकाको कार्यालयको ट्यांकरबाट गरी दैनिक ३ पटक पानी वितरण भइरहेको छ ।
जिल्ला प्रशासनले बिहान ७, दिउँसो २ र साँझ ६ बजे गरी विभिन्न वडामा खानेपानी वितरणको व्यवस्था मिलाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दैनिक ५ लाख लिटरसम्म यसरी खानेपानी वितरण भइरहेको बताए । छिमेकी बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिण टोलमा पनि बिहान र दिउँसो गरी २ पटक पानी वितरण गरिएको उनले बताए । खडेरीग्रस्त पर्साका केही भागमा मंगलबार साझ केहीबेर वर्षा भएको छ ।
वीरगन्ज महानगरपालिका–३२ चोर्नी, बेल्वा क्षेत्रमा साँझ करिब ६ बजेदेखि मुसलधारे पानी परेको हो । सखुवाप्रसौनी गाउँपालिका र आसपासको क्षेत्रमा ५ बजेदेखि वर्षा भएको स्थानीय रामकिशोर चौधरीले बताए । सदरमुकाम वीरगन्ज र आसपासको क्षेत्रमा छिटफुट वर्षा भएको छ । सातायता भारी वर्षा नभएकाले गर्मी अचाक्ली बढेको छ ।
साभारःकान्तिपुर दैनिक
