वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो । यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।
दुई वर्षअघिको ‘लम्पी स्किन’ को सङ्क्रमणपछि जन्मिएका गाईका बाच्छाबाच्छीमा यो समस्या धेरै देखिएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा. देवकुमार दर्लामीले जानकारी दिए । उनले ‘लम्पी स्किन’ देखिनेबित्तिकै हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सङ्घीय सरकारलाई जानकारी गराएको र स्थानीय तहसँग समन्वय गरेको जानकारि दिए ।
एक वर्षअघि ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन किसान र सरकारी संयन्त्रले ध्यान नदिँदा यस वर्ष धेरै फैलिएको उनले उल्लेख गरे । सङ्क्रमण देखिएपछि पशुको ओसारपसारमा निगरानी राखेको र सरसफाइमा ध्यान दिन र खोप लगाउने कार्यमा प्रोत्साहन गर्न मन्त्रालयले काम गरिरहेको साथै सङ्क्रमित पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन नमिल्ने र स्वस्थ पशुलाई मात्रै लगाउनुपर्ने भएकाले एकै पटक ठुलो सङ्ख्यामा खोप लगाउन आवश्यक रहेको बताए ।
खोपले काम गरेको नगरेको भन्नेबारे किसानबाट जिज्ञासा आउने गरेकामा त्यसको अध्ययन गर्ने ल्याबको क्षमता नभएकाले अध्ययनपछि मात्रै आफूहरूले सङ्घीय सरकारसँग नै यसबारेमा सोध्ने बताए । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. टपेन्द्रप्रसाद बोहोराले पाँच प्रदेशका कम्तीमा १५ जिल्लामा पाँच हजार दुई सय पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण रहेको जानकारी दिदै १३ हजार सक्रिय सङ्क्रमितबाट झरेर सो सङ्ख्यामा आएको स्पष्ट पारे ।
कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको , त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको छ ।
पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ ।
पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख सात वटा नै प्रदेशमा पठाएको जानकारी दिए । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । हालसम्म प्रदेशमा पठाएको कुल खोपमध्ये आधा खोप पनि पशुलाई लगाइएको छैन ।
विभागमा कार्यरत डा. नवराज श्रेष्ठका अनुसार प्रदेशको मागका आधारमा खोप उपलब्ध गराइएको र प्रदेशले जिल्लामा पुर्याएर स्थानीय तहमा रहेका पशु स्वास्थ्यकर्मीले किसानको घर घरमा पुगेर खोप लगाउने गर्छन् । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्याउन विभागले अनुरोध गरेको छ ।
गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउनु पर्छ ।
सङ्क्रमित पशुको दुध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र खास गरी ज्वरो नियन्त्रण गर्न नसकेमा सङ्क्रमित गाईवस्तु मर्न सक्ने पशु चिकित्सक बताउँछन् । नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखिएको थियो ।
दुई वर्षअघि मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँ बराबरको आर्थिक क्षति बेहोरेका थिए । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । नेपालमा ४७ लाख हाराहारीमा गाई र ३१ लाख भैँसी छन् ।
